सिद्धार्थ बैँकद्वारा विजय आ.विका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण 

२०८२ माघ १२ सोमबार १८:२१:०० मा प्रकाशित

गैँडाकोट । सिद्धार्थ बैँक लिमिटेडले विजय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई न्यानो कपडा(ट्रयाक सुट) बितरण गरिएको छ । विद्यालयमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकोटा एवं विशिष्ट अतिथि सिद्धार्थ बैँक लिमिटेड गैँडाकोट शाखा प्रमुख कमल भण्डारीले विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको थियो । 


कार्यक्रममा वडा अध्यक्ष प्रेम सापकोटाले सिद्धार्थ बैँकबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै यसको सदुपयोग गरी राम्रो अंकका साथ अन्तिम परीक्षामा सफल भए वडा कार्यालयले थप शिक्षाको लागि सहयोग गर्न तयार रहेको कुरामा जोड दिनुभयो ।


सिद्धार्थ बैँक गैँडाकोट शाखा प्रमुख कमल भण्डारीले विद्यार्थीहरुलाई अनुशासित भएर शिक्षा आर्जन गरी जीवनमा सफलता हासिल गर्ने बाटोमा हिँड्न प्रेरणा दिनुभयो । गैँडाकोट नगरपालिका शिक्षा समिति सदस्य दोलराज पाण्डेले सिद्धार्थ बैँक परिवारबाट प्राप्त विद्यालय पोषकको सहि प्रयोग गरी पढाईमा पनि विशेष ध्यान दिन विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो ।


कार्यक्रममा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा, कमला आचार्य, तर्कबहादुर थापा, र सुशिला परियार, सामाजिक व्यक्तित्व अनुपभद्र खनाल, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य शशिधर न्यौपाने, समाजसेवी एवं चन्दादाता तारानाथ सापकोटा, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु एवं शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सरस्वती पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहायक प्रधानाध्यापक सोवनाथ पौडेलले सञ्चालन गर्नुभएको थियो ।