ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ५ मा नयाँ नेतृत्व, अध्यक्षमा पशुपती रिजाल चयन
गैंडाकोट । ज्येष्ठ नागरिक वडा संघ गैंडाकोट ५ को साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार गैंडाकोट ५ स्थित पुरानो जनक नमुना मा.विको सभाहलमा सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक वडा संघका अध्यक्ष गोविन्दप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट ५ का वडाअध्यक्ष रत्नप्रसाद सापकोटा रहनुभएको थियो । अध्यक्ष सापकोटाले ज्येष्ठ नागरिकलाई आर्थिक सहयोगभन्दा बढी आश्रयस्तर र सेवाको आवश्यकता रहेको उल्लेख गर्दै आश्रयस्थल स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सो कार्यमा आफूहरूबाट आवश्यक सहयोग हुने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक नगर संघ अध्यक्ष मुक्तिनाथ न्यौपाने, ज्येष्ठ नागरिक वडा संघका सल्लाहकार पशुपती रिजाल, नगर कार्यपालिका सदस्य शान्ती न्यौपाने लगायतले कार्यक्रममाथि प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक वडा संघका सदस्य कविवर इन्द्रराज पौडेलले सहिद सप्ताह भएकाले सहिदहरुको सम्झनामा कविता वाचन गर्नुभएको थियो ।
अधिवेशनले पशुपती रिजालकोे अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक वडा संघ गठन गरेको छ । संघका नवनिर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षमा पार्वती सापकोटा, सचिवमा कृष्णप्रसाद ज्ञवाली, कोषाध्यक्षमा हरि लम्साल र सहसचिवमा विष्णुमाँया सापकोटा रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा हिरालाल कंडेल, सोमनाथ सापकोटा, हरिकला सापकोटा, गंगादत्त उपाध्याय सुवेदी, दिलप्रसाद भेटवाल, र रविलाल सापकोटा चयन हुनुभएको छ । त्यसैगरी, नगर प्रतिनिधि सदस्यमा विष्णुप्रसाद सापकोटा, गोविन्दप्रसाद पौडेल र लिलाधर पोखरेल रहनुभएको छ ।
ज्येष्ठ नागरिक वडा संघका सल्लाहकार विष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको ज्येष्ठ नागरिक वडा संघका सल्लाहकार लिलाधर पोखरेलले सहजीकरण गर्नुभएको थियो ।
निर्वाचन संयोजक कृष्ण प्रसाद पराजुलीले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ ग्रहण समेत गराउनुभएको थियो । ज्येष्ठ नागरिक नगर संघका अध्यक्ष मुक्तिनाथ न्यौपानेले हालसम्म नगरभित्रका १४ वटा वडामा ज्येष्ठ नागरिक वडा संघ गठन भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा ८५ जना ज्येष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।