डाँडाकालिका साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न, ११ लाखभन्दा बढी मुनाफा
नवलपरासी पूर्व । डाँडाकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम गैंडाकोट-२ स्थित श्रीराम पाटी प्यालेसमा भएको हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द गौतमले सहकारी संस्था विश्वास, पारदर्शिता र दिगो शेयर पूँजीका आधारमा अघि बढ्ने बताँउदै सदस्यबीच विश्वास टिकाइ राख्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार संस्था सक्षम र दिगो बनाउन औसत दस हजार रुपैयाँ शेयर पूँजी आवश्यक पर्ने भएकाले शेयर पूँजी वृद्धि गर्नु अत्यावश्यक रहेको बताँउदै आवश्यक परेमा सहकारीको क्षमता वृद्धिका लागि नगरपालिका तत्पर रहने पनि बताउनुभयो ।
जिल्ला सहकारी संघ नवलपरासीका सचिव श्यामसुन्दर लामिछाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बद्रिनाथ नेपाल तथा सहकारी समन्वय मञ्च गैंडाकोटका उपाध्यक्ष खगराज सापकोटाले सदस्यले दुःखले जम्मा गरेको रकमको सुरक्षामा संस्था गम्भीर हुनुपर्ने र ऋण लिनेले तोकिएको समयमै किस्ता बुझाउनुपर्नेमा जोड दिनुभयो। सहकारीमा १० लाख वा सोभन्दा बढी रकम जम्मा गर्ने आएमा स्रोतको खोजी गरी नेपाल राष्ट्र बैंकमा जानकारी गराउनुपर्ने, संचालक र कर्मचारीको क्षमता अभिवृद्धि तथा सफ्टवेयर व्यवस्थापनजस्ता पक्षमा ध्यान दिनुपर्ने सुझाव दिनुभयोे ।
डाँडाकालीका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राधा थापाले ५० रुपैयाँ संकलनबाट सुरु भएको सहकारीमा अहिले १ हजार ७ सयभन्दा बढी शेयर सदस्य रहेको र ६ करोडभन्दा बढी रुपैयाँ बराबरको वित्तीय कारोबार पुगेको बताउनुभयो । आर्थिक मन्दीकाबीच पनि सहकारीले विद्युत, खानेपानी, मोबाइल रिचार्ज, इन्टरनेट, हवाइ टिकट, रेमिटेन्स लगायतका सेवा निरन्तर प्रदान गर्दै आएको जानकारी दिनुभयो । संस्थाले सुत्केरी भेटघाट, मरणोपरान्त सहयोगलगायत सामाजिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। आउने वर्षमा वित्तीय साक्षरता, व्यवसायिक तथा सीपमूलक तालिम, रक्तदान तथा महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो ।
सचिव संगीता रानाभाटले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका शेयर सदस्य संख्या १ हजार ६ सय ५८ बाट बढेर १ हजार ७ सय २५ पुगेको बताउनुभयो । संस्थाले नवजात शिशुका नाममा बाल बचत खाता खोलिदिने तथा उत्कृष्ट बचतकर्तालाई सम्मान गर्ने कार्यक्रम निरन्तर चलाउँदै आएको र आगामी दिनमा डिजिटल बैंकिङ, मोवाइल एसएमएस सेवा तथा थप रेमिटान्स सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष टंकबहादुर थापाले आव २०८१÷८२ मा कुल सम्पत्ति ६ करोड ३१ लाख ५० हजार पु¥याउने लक्ष्य रहेकामा ६ करोड २ लाख ७२ हजार २ सय ४८ रुपैयाँ कायम भएको जानकारी दिनुभयो । आव २०८०÷८१ को तुलनामा ३.८५ प्रतिशतले वृद्धि भई शेयर पूँजी ८६ लाख ९५ हजार २ सय पुगेको तथा जगेडा कोष १८.३८ प्रतिशतले वृद्धि भई ४२ लाख ८० हजार ३ सय ६ पुगेको बताउनुभयो । साकोसले चालु आव २०८१÷८२ मा १४ लाख ९० हजार मुनाफा गर्ने लक्ष्य लिएकोमा १०.९३ प्रतिशतले वृद्धि भई ११ लाख ११ हजार ४ सय ३४ रुपैयाँ मुनाफा आर्जन गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। साकोसले आगामी वर्ष २०८२÷८३ मा १४ लाख १२ हजार मुनाफा गर्ने लक्ष्य राखेकोे छ।
लेखा सुपरिवेक्षण समितिका संयोजक शिवबहादुर पुनले ऋण असुलीमा विशेष ध्यान दिनुपर्ने, भाका नाघेका ऋण न्यनीकरण गर्नुपर्ने तथा शेयर-बचत वृद्धि कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक, बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ता लगायतलाई सम्मान गरिएको थियो। सहकारीका उपाध्यक्ष इन्द्र बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव संगीता रानाभाटले सहजीकरण गर्नुभएको थियो।