प्रगति टोल महिला समूहको साधारण सभा सम्पन्न
नवलपरासी पूर्व । प्रगति टोल महिला विकास समूह गैँडाकोट १ ले शुक्रबार पाचौँ वार्षिक साधारण सभा एवम् सम्मान कार्यक्रम गरेको छ । प्रगति टोल महिला समूहले नेतृत्व विकास, संस्कृति संरक्षण, वातावरण संरक्षण, सामुदायिक सहभागिता, धार्मिक प्रवर्धन तथा टोलभित्रका प्रतिभा तथा ज्येष्ठ व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको समूहका अध्यक्ष सरिता हुमागाईँले बताउनुभएको छ ।
संस्थाका सचिव आरती कंडेलले आयआर्जन वृद्धि, वातावरण संरक्षण, सामाजिक तथा सांस्कृति कार्यक्रमहरुको निरन्तरता दिइने बताउनुभयो । चालु आर्थिक वर्षमा स्वास्थ्य सचेतनाका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्ने सचिव कंडेलले बताउनुभयो । कोषाध्यक्ष विनिता रेग्मी उपाध्यायले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सभाले सर्वसम्मत पास गरेको छ ।
गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले टोलले सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक पक्षमा सबैले अनुकरण गर्न योग्य कार्य गरिरहेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

अतिथिहरु वडा महिला सदस्य सीता सापकोटा, वडा सदस्य लक्ष्मी चालिसे, टोल विकास संस्थाका अध्यक्ष खेमप्रसाद गिरि, नेटफ्रेस अस्पतालका सञ्चालक गोविन्द हुमागाईँले टोलले गरेका उत्कृष्ट कार्यहरुको प्रंशसा गर्दै आगामी दिनमा निरन्तरताका लागि शुभकामना दिनुभएको छ ।
संस्थाले विभिन्न संस्थाले आयोजना गरेका विभिन्न तीजगीत प्रतियोगितामा सहभागि भइ विजयी हुन सफल महिला दिदिबहिनीहरु, सहयोगी व्यक्तित्वहरु, समूहले सञ्चालन गर्दै आएको भजनकीर्तन कार्यक्रममा महत्त्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई उपाध्यक्ष मिना केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण आत्मराम पाठक, आरती कंडेल र अस्मिता कंडेलले गर्नुभएको थियो ।