पठन संस्कृति अभियानको १८ औँ शृङ्खला सम्पन्न
मानव शरीरका क्रियाकलापको स्थायी ठेगाना भए पनि पढाइको स्थायी ठेगाना नहुने : डा. क्षेत्री
गैंडाकोट । पठन संस्कृति अभियानअन्तर्गत १८ औँ शृङ्खला आज सम्पन्न भएको छ । विजय विकास स्रोत केन्द्रको हलमा आयोजित कार्यक्रममा लेखक डा. जीवन क्षेत्री प्रमुख अतिथि रहनु भएको थियो। लेखक क्षेत्री ‘नुन तेल’ शीर्षकको पुस्तकका लेखक हुनुहुन्छ। उहाँले विभिन्न पत्रपत्रिका, अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत ग्लोबल वार्मिङ, वातावरणीय विषय र जलवायु संकटसम्बन्धी विश्लेषणात्मक लेखहरू लेख्दै आउनुभएको छ।
कार्यक्रममा बोल्दै डा. क्षेत्रीले पठन संस्कृतिलाई आधुनिक माध्यममार्फत पनि अघि बढाउन सकिने बताउनुभयो। उहाँले ‘नुन र तेल’ पुस्तकमा वातावरण प्रदूषण, जलवायु परिवर्तन र जलवायु संकटले हाम्रो समाज तथा विश्व समुदायमा पारेका प्रभावबारे विस्तृत रूपमा चर्चा गरिएको उल्लेख गर्नुभयो। मानव शरीरका विभिन्न क्रियाकलापको स्थायी ठेगाना भए पनि पढाइको स्थायी ठेगाना नहुने र धेरै मस्तिष्कहरू सक्रिय हुने बताउनुभयो।

अधिवक्ता रमेश काफ्लेले ‘युगदेखि युगसम्म’ पुस्तकको महत्व अपरिवर्तित रहेको भन्दै विद्यालय तहमा कानुनी विषयसम्बन्धी औपचारिक शिक्षाको अभाव रहेको टिप्पणी गर्नुभयो। महिला हिंसा, साइबर अपराध, अनलाइन ठगीजस्ता विषयमा बाल मस्तिष्कमा प्रारम्भिक चेतना जगाउन आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा संसार सापकोटाले आफ्नै सिर्जनाका कविता तथा ‘स्वोस्तीक छाप’ नामक गजल प्रस्तुत गर्दै देशमा देखिएको राजनीतिक अन्योल, साथै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सदुपयोग सही तरिकाले गर्नुपर्ने धारणा राख्नुभयो।
यस्तै, शंकर आचार्यले ‘बसाइ’ उपन्यासका सन्दर्भमा विदेशिने क्रम बढ्दो भए पनि धर्म, रीतिरिवाज र संस्कृतिको संरक्षणमा हामी सबै सचेत हुनुपर्ने बताउनुभयो।
सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको यस कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो।
