चितवनमा कानको उपचार गर्न घुम्ती सेवा

२०८२ कार्तिक २८ शुक्रबार १३:५५:०० मा प्रकाशित

चितवन । चितवनमा पाँच वर्षमुनिका बालबालिकाको कानको उपचार गर्न घुम्ती सेवा सञ्चालन गरिएको छ । विश्व परिदृश्य वकालत मञ्चले बच्चा र कान फाउन्डेसन नेदरल्यान्ड्सको साझेदारीमा चितवनका सातवटै पालिकामा घुम्ती सेवा सञ्चालन गरेको हो ।

 

पाँच वर्षमा जिल्लाका २५ हजार बालबालिकाको कानको उपचार गरी श्रवणशक्तिलाई मजबुत बनाउने उद्देश्यले पालिकास्तरीय सेवा सञ्चालन गरिँदै आएको विश्व परिदृश्य वकालत मञ्चका कार्यकारी निर्देशक नवराज अधिकारीले बताउनुभयो ।

 

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हुँदा स्थानीय सरकार र विद्यालयहरुसँग सहकार्य गरी काम भइरहेको अधिकारीले बताउनुभयो ।

 

बालबालिकाको कानको उपचारका लागि मञ्चले सात महिनाअघि रत्ननगर वडा नं-१, सौराहा चोकमा रोडसाइड क्लिनिक सञ्चालनमा ल्याएको छ । क्लिनिकमा आउन नसक्नेहरुलाई गाउँबस्तीमै पुगेर सेवा प्रदान गरिँदै आएको छ । सात महिनामा क्लिनिक र घुम्ती सेवामार्फत दुई हजार बालबालिकाको कानको उपचार गरिएको र पाँच वर्षमा २५ हजारको उपचार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । बालबालिकाको कानको उपचारका लागि नेदरल्यान्ड्सका विदेशी विशेषज्ञ डाक्टरहरु समेत सहभागी छन् ।