विजय सामुदायिक शिक्षा सदन एसईईमा उत्कृष्ट, सफलको संस्थागत स्कुलतर्फ उच्चतम अंक 

२०८२ असार १४ शनिबार १८:३४:०० मा प्रकाशित

गैँडाकोट – नवलपुरको गैँडाकोट–५ मा अवस्थित विजय सामुदायिक शिक्षा सदनले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका छात्र सफल चापागाईंले ३.९५ जीपीए ल्याउँदै विद्यालयकै सर्वोत्कृष्ट नतिजा हात पार्नुका साथै गैँडाकोट क्षेत्रमा रहेका संस्थागत विद्यालयहरूमध्ये पनि उच्चतम अंक ल्याउने विद्यार्थी बनेका छन्।
विद्यालयका प्रिन्सिपल चक्रधर पौडेलका अनुसार यस वर्षको एसईई परीक्षामा सहभागी ५१ जना विद्यार्थीमध्ये ४६ जना उत्तीर्ण भएका छन्। नतिजाको विवरण अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थी संख्या १४ जना रहेको छ। त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने १२ जना २.८० देखि ३.२० ल्याउने १३ जना र २.४० देखि २.८० जीपीए ल्याउने ७ जना रहेका छन्। प्रिन्सिपल पौडेलले विद्यालयको समग्र नतिजा सन्तोषजनक रहेको भन्दै विद्यार्थी, अभिभावक र शिक्षकहरूको सामूहिक प्रयासबाट यस्तो सफलता सम्भव भएको बताए। उनले सफल चापागाईंको उल्लेखनीय उपलब्धिप्रति गर्व व्यक्त गर्दै थप प्रगतिको शुभकामना व्यक्त गरे। सामुदायिक विद्यालयहरूमध्ये उल्लेखनीय प्रगति गर्दै आएको विजय सामुदायिक शिक्षा सदन पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर, अनुशासन र नतिजाको हिसाबले गैँडाकोट नगरभित्र उदाहरणीय बन्दै आएको छ। यस वर्षको नतिजाले सो तथ्यलाई अझ बलियो प्रमाण दिएको छ।