गैंडाकोटका आजदेखि एचपिभि खोप लगाइयो, तीन हजार चारसय ६६ किशोरीहरु लाभान्वित हुने
गैंडाकोट । गैंडाकोटमा जनक नमुना माध्यमिक विद्यालय खोप केन्द्रबाट आजदेखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि खोप) लगाउने कार्यक्रमको सुरुवात भएको छ ।
गैँडाकोटका तीन हजार चारसय ६६ किशोरीहरुलाई आजदेखि एचपिभि खोप लगाईने छ। गैंडाकोटका १८ वटै वडाहरूमा ६० खोप कार्यकर्ता र १२० स्वयंसेविका मार्फत खोप दिन लागिएको हो । गैंडाकोट नगरपालिका भित्रआजदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० कक्षासम्मका तीन हजार चारसय ६६ जना छात्राहरूलाई खोप लगाईने गैंडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव आचार्यले जानकारी दिनुभयो।
स्वास्थ्य मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. भिमप्रसाद सापकोटाले पाठेघरको मुखको क्यान्सर हुन नदिन यो खोप लगाउन आग्रह गर्दै उहाँले विना संकोच खोप लगाउन अनुरोध गर्नुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन यो खोप लगाउन आवश्यक भएको बताउनुभयो । धेरै महिलाहरुको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट भएकोले यसलाई निर्मुल गर्न यो खोपले काम गर्ने उहाँको विश्वास थियो ।
महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सरबाट अबका पुस्ताका किशोरीहरुलाई बचाउन एचपिभि खोपले मद्त गर्ने हुनाले कोही नछुटुन भन्दै १०–१४ बर्षका किशोरी बालिकालाई खोप लगाउन अनुरोध गर्नुभयो ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले खोप कार्यक्रम सबैले दायित्व निर्वाह गर्न र किशोरीहरुलाई खोप लगाउन अनुरोध गर्नुभयो ।
जनक नमुना माविका प्रधानाध्यापक चुडामणि शर्मा कँडेलले विद्यालयबाट यो कार्यक्रमको सुरुवात गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो ।
नेपालमा माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१–८२ सञ्चालन गर्ने निर्णय गरेको हो । नवलपुरमा १७ हजार किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।