गैंडाकोटमा एक सय जनालाई हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग सम्बन्धी तालिम दिइने 

२०८१ माघ २३ बुधबार १८:५८:०० मा प्रकाशित

गैंडाकोट । ‘सिप सिकौं स्वरोजगार बनौ’ भन्ने अभिप्रायका साथ गैंडाकोटमा १५ दिने हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग  तालिमको उद्घाटन गरिएको छ । गैंडाकोट ५ को आयोजनामा तथा भूमिका टेक्निकल सर्भिस प्रा.लि देवचुली २ को सहजीकरणमा आज गैंडाकोट ५ मा रहेको गणेश मन्दिरमा एक कार्यक्रम गर्दै उद्दघाटन गरिएको हो । वडा नं ५ भित्रका १९ टोलका करिब १ सय वडा बासीहरुले उक्त तालिम १५ दिनसम्म लिन सक्ने भएका छन् ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपमेयर शान्ती कोइरालाले हाउस वायरिङ्ग तथा प्लम्बिङ्ग तालिम अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले वडाले दिएको पहिलो चरणको १५ दिने तालिम सक्रिय भएर लिन आग्रह गर्नुभयो । साथै उहाँले तालिम लिइसकेपछि उपयुक्त लागेमा पुनः तालिम प्राप्त गर्ने अवसर वडाले  प्रदान गर्ने समेत बताउनुभयो । 


कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले १५ दिने तालिम सिक्नाले  आफ्नो घर र समाजको समस्याहरु समाधान गर्नमा सहयोग पुग्ने बताउनुभयो । अधिकारीले आफुले सिकेको सिप अरुलाई पनि सिकाउन पाउँदा आफुलाई आयआर्जनमा पनि सहयोग पुग्ने बताउनुभयो । 
  
कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले घरमा हुने खानेपानी तथा विद्युतीय सम्बन्धी स–साना समस्याहरु धाराको टुुटी, पानी चुहिने समस्या, फ्युज जाने  समस्याहरु, वायरि∙ सम्बन्धी समस्याहरु समाधानका लागि अरुलाई गुहार्नुपर्ने अवस्थालाई मुक्त गराउन एक घर एक प्राविधिक बनाउने उद्देश्यका साथ जुनसुकै उमेरका महिला पुरुषहरुलाई यो तालिमको सञ्चालन गरिएको बताउनुभयो ।
 
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, जनक मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा, सञ्जाल टोल विकासका अध्यक्ष रेखा पौडेलले यो तालिम प्राप्त गर्नाले आत्मनिर्भर हुनुका साथै  पछिल्लो क्रममा युवाहरु विदेशिने समस्यामा पनि कमि आउन सक्ने बताउनुभयो ।

 
गैंडाकोट ५ का वडा सदस्य द्रोण वन सन्यासीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको भूमिका टेक्निकल सर्भिस प्रा. लिका निर्देशक दिपा देवकोटाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न टोलका अध्यक्षहरु, वडा सदस्यहरु, प्रधानाध्यापक,  टोलवासीहरु लगायतको उपस्थिती रहेको थियो । 

सिटिइभिटीबाट मान्यता प्राप्त भूमिका टेक्निकल सर्भिसका प्रशिक्षक हिमाल पौडेल, प्रकाश पौडेल र अर्जुन तामाङ्गले प्रशिक्षण दिने भएका छन् । ३ समुह गठन गरि दिइन लागिएको तालिम गणेश मन्दिर, जनक नमुनाको पुरानो भवन र सरास्वती स्कुलबाट इच्छुक एक सय जनाले तालिम लिन सक्नेछन्   ।