पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान आजबाट सुरुवात हुँदै

२०८१ माघ २२ मंगलबार ०७:११:०० मा प्रकाशित


नवलपरासी पूर्व । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान आजबाट सुरुवात हुँदैछ । नेपालमा आज माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइने छ । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले एचपीभी खोप अभियान २०८१÷८२ सञ्चालन गर्ने निर्णय गरेको हो । 
नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य कार्यालयका अनुसार नवलपुरमा २ सय ३० विद्यालय सहित कुल ३ सय २० खोप केन्द्रमा खोप अभियान सन्चालन हुने प्रदेश स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिनुभएको छ ।                                                  
कक्षा ६ देखि १० सन्चालन भएका २ सय ३० विद्यालय र ९० वटा स्वास्थ्य संस्थामा दुई चरणमा गरेर खोप अभियान सन्चालन गरिने प्रमुख सिंहले जानकारी दिनुभएको छ ।  अभियानमा सबैभन्दा धेरै गैँडाकोट नगरपालिकामा ३ हजार ९ सय ४९ र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा ५ सय १३ जनाले खोप लगाउने छ्न् । 
सिंहका अनुसार माघ २२ गते देखि माघ २८ गते सम्म बुलिङटार, बौदिकाली, गैँडाकोट र देवचुलीमा पहिलो चरण र कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ गते देखि फागुन ६ गते सम्म दोस्रो चरणमा खोप अभियान सन्चालन हुने छ ।
पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ । यसकै कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ । प्रत्येक दिन यो                                                         क्यान्सरबाट ४ जनाको ज्यान जाने अध्ययनले देखाएको छ ।                                                                                                                                                                                 
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) यौन सञ्चारित रोगको सूचीमा पर्ने सबैभन्दा सामान्य समस्या हो । एचपीभी संक्रमण सङ्क्रमित व्यक्ति (पुरुष वा महिला) को सम्पर्कमा आउँदा हुन्छ । जसकारण शरीरका केही विशेष अङ्ग खासगरी यौनाङ्गमा मुसा बन्न थाल्छ ।  यदि यो भाइरस लामो समयसम्म शरीरमा रह्यो भने यसले क्यान्सर निम्त्याउन सक्छ । तर यस क्यान्सरबाट बच्न एचपीभी खोप लगाउन सकिन्छ ।