जनक नमुना मा.वी.को ६६ औँ वार्षिकोत्सवका विविध कार्यक्रमहरु आजदेखि सुरु
गैँडाकोट । सरस्वती पूजाको अवसर पारी जनक नमुना माध्यमिक विद्यालयले ६६ औँ वार्षिकोत्सवका विविध कार्यक्रमहरु सुरु गरेको छ ।
समुदायसँग जनक कार्यक्रम अन्तर्गत नमुना भवन काँग्रेसचोकमा पहिलो दिन डोरी तान्ने र म्यूजिकल चियरका खेल सम्पन्न गरेको हो । गैंडाकोटका विभिन्न टोलबाट आमा समुहको डोरी तान्ने र मयूजिकल चियर कार्यक्रम पहिलो दिन सम्पन्न गरेको छ। उक्त डोरी तान्ने खेलमा गैंडाकोट ४ र ५ का १३ आमा समूहको सहभागिता रहेको थियो ।
विद्यालयको प्राङ्गणमा भएको डोरी तान्ने खेलमा प्रत्येक समूहबाट ८ जना खेलाडि सहभागी हुने गरि कार्यक्रम आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव प्रसाद सापकोटाको अध्यक्षतामा भएको डोरी तान्ने खेलमा बैकुण्ठ नगर आमा समूह प्रथम, आदर्श सरस्वती महिला समूह द्वितीय र बैकुण्ठ मार्ग सुनौलो आमा समूह तृतीय भएको अभिभावक खेलका संयोजक दिपक ढुङ्गाना शर्माले जानकारी दिनुभयो ।
यसैगरी अर्को प्रतियोगिता म्यूजिकल चियरमा १८ वटा महिला समूहका ६५ जना खेलाडीको सहभागिता रहेको थियो । उक्त म्यूजिकल चियर खेलमा बैकुण्ठ मार्ग आमा समूहकी गुमा पौडेल प्रथम, निर्मला घिमिरे द्वितीय हुनुभएको थियो भने गणेश मन्दिर आमा समूहकी सबिना अधिकारी न्यौपाने तृतीय हुनु भएको कार्यक्रम संयोजक दिपक ढुङ्गाना शर्माले जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी, गैँडाकोट ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा, वडा सदस्य तुलसीराम गौतम लगायतका अतिथीहरुले खेलको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले विद्यालयले ६६ औँ वार्षिकोत्सवका कार्यक्रमहरु सरस्वती पूजाको दिन देखि सुरुवात भएको र पहिलो दिन अभिभावक डोरी तान्ने खेल, म्यूजिकल चियर प्रतियोगिता सञ्चालन गरिएको , दोस्रो दिन अभिभावक तथा महिला समूहको दुना टपरी बुन्ने प्रतियोगिता तथा बेलुन नृत्य र तेस्रो दिन अभिभावक तथा महिला समूह बिच गाउँखाने कथा तथा गैंडाकोट नगरपालिकामा रहेका माध्यामिक सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारीका साथ सबैजनालाई उक्त कार्यक्रममा सहभागि हुन समेत निमन्त्रण गर्नुभएको थियो । साथै उहाँले यहि माघ २४ गते निःशुल्क दन्त शिविर आयोजना गरिएको र उक्त शिविरमा सम्पूर्णको सहभागिता तथा दन्त जाँच गराई लाभ लिन समेत आग्रह गर्नुभएको थियो ।
विद्यालयले समुदायमा हाम्रा बाबुनानी कार्यक्रम अन्तर्गत २०८१ माघ २३ गते विद्यालयका ३ वटै ब्लकका विद्यार्थीहरु सहित टोल सरसफाई कार्यक्रम समेत आयोजना गरेको जानकारी गराउनु भयो । विद्यालयमा फ्ड फेस्टिबल, शिक्षकहरुबिच खेलकुद, विद्यार्थीहरुको खेलकुद लगायतका कार्यक्रम आयोजना गरिएको र २७ गते साँस्कृतिक कार्यक्रम, छात्रवृत्ति, पुरस्कार वितरण, विद्यालयको प्रतिवेदन प्रस्तुत लगायतका कार्यक्रम रहेको प्रधानाध्यापक शर्माले जानकारी गराउनु भयो।