गैँडाकोट इङ्लिस स्कुलको जिइएस स्पोर्टस कार्निभल २०८१ सम्पन्न
गैंडाकोट । माघ ९ गतेदेखि शुरु भएको गैँडाकोट इङलिस स्कुलको जि.इ.एस स्पोर्टस कार्निभल २०८१ आज सम्पन्न भएको छ । माघ ९ गतेदेखि विभिन्न कार्यक्रमहरु गर्दै आएको गैंडाकोट इंगलिस स्कुलमा आज अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको फाइनल म्याचमा उत्कृष्ट खेलाडिहरुलाई सम्मान गर्दै कार्यक्रमको समापन गरिएको हो ।
कार्यक्रममा गैंडाकोट खेलकुद समितीका अध्यक्ष लक्ष्मण कार्कीले गैंडाकोट इङ्लिस स्कुल शैक्षिक क्रियाकलापमा मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । कार्कीले खेलमा उत्कृष्ट भएका खेलाडिहरुलाई बधाई ज्ञापन गर्नुका साथै थप ऊर्जाशिलताका साथ अगाडि बढी राष्ट्रिय स्तरमा नै खेल्न सक्ने खेलाडि बन्नका लागि उत्प्रेरणा प्रदान गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिरालाल अर्यालले विद्यार्थीहरुलाई पढाइसँगसँगै अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउन आवश्यक हुने हुँदा विद्यार्थीको मनोबल वृद्धिका लागि पनि आफ्नो विद्यालयबाट हरेक वर्ष खेलहरु खेलाउँदै आएको बताउनुभयो ।
आज भएको फाइनल फुटसल म्याचमा विजय इङ्लिस स्कुल चितवनले प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेसँगै उसले ट्रफी मेडलसहित २० हजार प्राप्त गरेको हो ।
त्यस्तै, कालिका नमुना माध्यामिक विद्यालय गैंडाकोटले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । कालिकाले ट्रफी, मेडलसहित र १० हजार प्राप्त गरेको हो ।
तेस्रो स्थान हासिल गरेको कृष्ण गण्डकी मा.वि गैंडाकोटले ट्रफी मेडलसहित ५ हजार प्राप्त गरेको हो ।
विद्यालयले विद्यार्थीहरुलाई मात्र नभएर माघ १५ गते अभिभावकहरुबिच मिनी हाफम्याराथान र भाग्यको खेल खेलाएको थियो । उक्त खेलमा प्रथम भएका अभिभावकका बालबालिकाले आँउदो बैशाखमा हुने विद्यार्थी भर्ना वार्षिक शुल्कमा प्रथम हुनेले ७५ प्रतिशत छुट, द्धितीय हुनेको बालबालिकाले ५० प्रतिशत छुट र तृतीय हुनेले २५ प्रतिशत छुट प्राप्त गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एंव प्लस टु संयोजक जिवन दवाडीले जानकारी दिनुभयो ।
मिनी हाफम्याराथन पुरुषतर्फ मिन बहादुर क्षेत्री प्रथम, ध्रुव भट्टराई द्धितीय र दिपक सुवेदीले तृतीय स्थान हासिल गर्नुभएको छ । त्यस्तै महिलातर्फ लछु पोखरेल प्रथम, पुनम शाह द्धितीय र सरिता पुनले तृतीय स्थान हासिल गरेका छन् । भाग्यको खेलतर्फ भने पुर्न प्रसाद गौतम प्रथम, जनुका सुवेदी द्धितीय र सविता शर्माले तृतीय स्थान हासिल गर्नुभएको थियो । उत्कृष्ट सम्पूर्णलाई मेडल प्रदान गरी सम्मान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा कार्यक्रम प्रायोजकलाई सम्मान पत्र प्रदान गर्नुका साथै विजय इंलिस स्कुल चितवनका क्रिस गिरीलाई उत्कृष्ट खेलाडिको रुपमा सम्मान गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एंव प्लस टु संयोजक जिवन दवाडीले सहजिकरण गर्नुभएको कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्यहरु, खेलकुद समितकिा अध्यक्षहरु, अभिभावकहरु, विद्यार्थीहरु तथा खेलकुदप्रेमीहरुको उपस्थिती रहेको थियो ।