कावासोती वडा नं. १ का अध्यक्ष मियाको निधन
गैँडाकोट । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तवारक अहमद मियाको निधन भएको छ । राष्ट्रिय युवासंघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाको गैँडाकोटमा युवासंघको अधिवेशनमा सहभागी भैरहेको बेला हृदयघातका कारण मृत्यु भएको हो ।
गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा चलिरहेको राष्ट्रिय युवासंघ नेपाल नवलपुरको दशौ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर स्टेजबाट ओर्लिए लगत्तै मिया कुर्चीमा लडेका थिए । घटना लगत्तै उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । मियाको उपचारको क्रममा दिउसो २ः४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
३७ वर्षका मियाका श्रीमती, ३ छोरी र १ छोरा हुनुहुन्छ । युवाहरुमाझ लोकप्रीय मियाको निधनले युवासंघलाई अपुरणीय क्षती पुगेको छ । मियाको निधन भएपछि राष्ट्रिय युवासंघको जिल्ला अधिवेशन स्थगित गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।