गैँडाकोट नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न 

२०८१ माघ ४ शुक्रबार १८:५८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाको १६ औँ अधिवेशन शुक्रबार गैँडाकोट नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाको १६ औँ अधिवेशनले गैँडाकोट नगरपालिकाको स्थानीय वन विधेयक २०८१, गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, दोस्रो पटक संशोधन प्रस्ताव, गैँडाकोट नगरपालिकाको लेखा समितिको प्रतिवेदन, गैँडाकोट नगरपालिकाको संगठन संरचना ऐन, गैँडाकोट नगरपालिकाका नीतिगत ऐन र प्रस्ताव बहुमतले पारित भएको छ । गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सो ऐन र प्रस्ताव प्रस्तुत गर्दै बहुमतले पारित भएको बताउनुभयो । 

यस्तै नगर सभासदले बोल्ने समयमा गैँडाकोट ६ का चन्द्रबहादुर विश्वकर्माले मात्रै आफ्ना धारणा राख्नुभएको थियो । उहाँले गरिव र विपन्न वर्गलाई पहिलो नगरसभाबाट नै हेर्ने काम गर्ने कुरा हुँदा अहिलेसम्म राम्रोसँग कार्यान्वयनमा नआएको बताउनुभयो । साथै उहाँले शिक्षा, रोजगारी र करका विषयमा अझै छलफल हुन र करको मार नागरिकमा कम पर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो । 

उहाँको जिज्ञासाको समाधान गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खानालले करको दायरा बढाउने तर करको दर नवढाउने नीतिका साथ अगाडी बढेको बताउनुभएको छ । 

यसैबिच गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम र सुचना प्रबिधि अधिकृत विनोद न्यौपाने नगद १० हजार र सम्मानपत्रले उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुनुभएको हो ।