गैँडाकोट १८ मा सार्वजनिक शिक्षा सुधारका लागि “विद्यालयसँग वडा अध्यक्ष” कार्यक्रम

२०८१ फाल्गुण २८ बुधबार ०७:३०:०० मा प्रकाशित


नवलपरासी पूर्व । मंगलबार गैँडाकोट १८ मा विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम गरिएको छ । वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । वडा अध्यक्ष तिलबहादुर चितौरेले सार्वजनिक शिक्षा सुधारको लागि वडाले अभियान सुरु गरेको बताउनुभयो ।

सार्वजनिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिका लागि विद्यालय, अभिभावक र स्थानीय सरकारको त्रिकोणात्मक सहकार्य आवश्यक भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले समाजको तल्लो तहका जनतालाई  तथा विद्यालय र आम नागरिकमा सरकार छ भन्ने आभाष दिलाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्तगर्नुभयो ।

कार्यक्रममा गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, नगर शिक्षा अधिकारी बालकृष्ण चापागाईंले विद्यालयसँग वडा अध्यक्ष कार्यक्रमले सामुदायिक विद्यालयको आवश्यकता, योगदान र समाजप्रतिको विश्वास बढ्दै जाने धारणा राख्नुभयो । कार्यक्रममा ७५ वर्ष माथिका ५७ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा कार्यालयका सचिव रामु पौड्यालले जानकारी दिनुभएको छ ।

यसै कार्यक्रममा घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागि ५ जनालाई सम्मान गरिएको थियो । अभिभावक विहिन बालज्योती माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत एकजना विद्यार्थीलाई शिक्षण सामग्री हस्तान्तरण समेत गरिएको वडा सचिव रामु पौड्यालले बताउनुभयो ।