पुँजीगत खर्च कम हुँदैन, राजतन्त्र फर्काउने कुरा कल्पनाभन्दा बाहिरको कुरा होः मुख्यमन्त्री पाण्डे  

२०८१ फाल्गुण २८ बुधबार १६:२९:०० मा प्रकाशित

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसबर्ष पुजीगत खर्च पहिलेको भन्दा नघट्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासंघ नवलपुर शाखाले कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट तथा नवलपुर पत्रकार महसंघको भवन निर्माणका लागि प्रस्तावना पत्र पेश गर्ने कार्यक्रममा बोल्दै उहाँले बहुबर्षे ठेक्का , अहिले भइरहेका कामको खर्चको निकासा गर्दा पुँजीगत खर्च कम नहुने र क्रमश बढदै जाने बताउनुभएको हो । पुँजीगत खर्च सतप्रतिशत नहुने बताउँदै पहिले भन्दा कम पनि नहुने उहाँको भनाई छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालमा पुनः राजतन्त्र फर्काउने कुरा कल्पनासम्म गर्न नसकिने बताउनुभएको छ। उहाँले जनताको बलिदानबाट प्राप्त गणतन्त्र कुनै हालतमा उल्टिन नसक्ने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पाण्डेले नेपाल संघीय लोकतान्त्रिक प्रणालीमा अघि बढिसकेको उल्लेख गर्दै जनताको अभिमत विपरीत राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले त्रिवेणी–दुम्कीबास सडकको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै छिट्टै समस्या समाधान हुने दाबी गर्नुभयो। साथै, संविधानलाई अझ बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

नवलपुर पत्रकार महासंघको भवन निर्माणका लागि प्रस्तावना पत्र पेश बुझ्दै प्राबिधिक अध्ययन पश्चात आफुले गर्ने सहयोग गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ । पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले उहाँलाई महासंघको भवन निर्माणका लागि प्रस्तावना पत्र पेश गर्नुभएको थियो ।