सहकारीको सिद्धान्त बमोजिम कार्य सञ्चालन गर्नुपर्ने सहकारी मन्त्री श्रेष्ठको भनाई
नवलपुर । गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले सहकारीहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम कार्य सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेडको ४२ औं बार्षिक साधारण सभाको अवसरमा शुभकामना दिदै मन्त्री जिसीले सदैव जिल्ला सहकारी संघको हितमा हुने काममा सहयोग गर्ने समेत बताउनुभयो । मन्त्री जिसीले संघको उत्पादन संकलन र बजारीकरणको लागि बन्ने भवनको लागि आगामी बजेटमा रकम छुट्टाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री जिसीले वार्षिक साधारण सभाको सफलता र सहकारी अभियानलाई अझै ससक्त रूपमा बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
“सहकारीमा शुसासनः प्रविधि र एकीकरण” भन्ने सहकारी नारासहित सञ्चालित जिल्ला सहकारी संघ लिमिटेडको ४२ औं बार्षिक साधारण सभा शनिबार देवचुली नगरपालिकाको सभाहलमा, देवचुलीमा भएको छ । कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बद्रीनाथ नेपाल, पूर्व अध्यक्ष तथा सल्लाहकार केशव प्रसाद सापकोटा, देवचुली सहकारी संजालकी अध्यक्ष रेनुका बस्ताकोटी, विनय त्रिवेणी गाउँपालिकाका आर्थिक प्रशासन÷सहकारी अधिकृत यम शर्मा पौडेल, नेफ्स्कुनका संचालक गोपाल प्रसाद गौतम, राष्ट्रिय सहकारी महासंघका संचालक होमनाथ जैसीले शुभकामना मन्तव्य राख्नुहुँदै संस्थाको थप उन्नति प्रगतिको कामना गर्नुभयो ।
पूर्व अध्यक्ष एवं सल्लाहकार केशव प्रसाद सापकोटाले सहकारी क्षेत्रमा आएको विकृतिलाई शुद्धीकरण गर्नु पर्नेमा जोड दिदै वार्षिक साधारण सभा सफलताको शुभकामना दिनु भयो। नेफ्स्कूनका संचालक गोपाल प्रसाद गौतमले सहकारी ऐन संशोधन गर्ने अध्यादेशले व्यक्तिगत बचतको सीमा तोकेकोमा तेस्रो खम्बाको रूपमा सहकारीलाई धरासायी पार्ने भएकोले सरकारले यसलाई सुधार्नुपर्ने भन्दै सहकारी अभियानलाई अझै शसक्त बनाएर लानु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडका संचालक होमनाथ जैसीले अध्यादेशले व्यक्तिगत बचतको सीमा तोकेकोमा महासंघबाट यो बुँदा हटाउनु पर्ने माग गर्नु भयो ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले पालिका र सहकारी सहकार्यलाई जोड दिदै सहकारी अभियानलाई आफ्नोे तर्फबाट सदैव साथ सहयोग रहने भनाई राख्नु भयो।
संघका सचिव श्यामसुन्दर लामिछाने संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष टिकाराम कंडेलले कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक छविलाल अर्यालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघका अध्यक्ष तिलक प्रसाद पराजुलीले संघ हरेक पालिकामा पुगेर अन्तरक्रिया, छलफल, तालिम र गोष्ठीको माध्यमबाट सहकारी र सहकारिताको प्रवर्धन र विकासको मार्गमा अग्रसर भएको बताउदै उत्पादन संकलन र बजारीकरणको लागि संघको आफ्नै जग्गामा भवन बनाउनको लागि मन्त्री पद्मा जिसी श्रेष्ठको प्रतिवद्धताको लागि धन्यवाद दिनुभयो ।
बन्द सत्रमा संघका सचिव श्यामसुन्दर लामिछानेले प्रस्तुत गर्नुभएको संचालक समितिको प्रतिवेदन, कोषाध्यक्ष टिकाराम कंडेलले प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिका संयोजक छविलाल अर्यालले प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सहित बजेट र प्रस्तावित सबै कार्यक्रमहरू एक मतले पारित गरेको थियो ।
सोही अवसरमा जिल्ला सहकारी संघ लिमिटेडका उपाध्यक्ष इन्द्रराज ज्योति पौडेलले नेफ्स्कूनको लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित भए पछि दिनु भएको राजीनामाका कारण रिक्त रहेको उपाध्यक्ष पदमा मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि .का अध्यक्ष एवं सहकारी अभियन्ता तुलमणी पौडेललाई सर्वसम्मत निर्वाचित गरेको छ । रिक्त पदपूर्तिका लागि जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बद्रिनाथ नेपालको संयोजकत्वमा सालिकराम कोईराला र ऋृषि राम लम्साल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रकिया सम्पन्न गर्दै पदपूर्ति गरेको थियो।
विनयी त्रिवेणी गाउँपालिका आर्थिक प्रशासन÷ सहकारी अधिकृत यम शर्मा पौडेललाई पालिका स्तरमा सहकारी अभियानलाई श्रीवृद्धि तथा सहकारी तथ्यांकलाई सुदृढिकरण गरेकोमा सम्मान गरेको छ। सेवा अवधिलाई आधार बनाएर मध्य नेपाल साकोस, देवचुलीका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसाल, साना किसान कृषि सहकारी संस्था लिमिटेडका कुमारवर्ती, कावासोतीका प्रबन्धक सीता पाठक र विकू साकोस, गैडाकोटका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संघका सचिव श्यामसुन्दर लामिछानेले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष खीना कुमारी भुसालले गर्नु भएको थियो ।