एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि
सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ । एमाले केन्द्रीय समिति बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने छन् । बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका थिए ।
यस्तै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा बिहान ११ बजेदेखि दोस्रो दिनको बैठक सुरू हुने प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक एवम् सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
प्रचण्डले हिजोको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प ः आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा फागुन १ गतेभित्र सम्पत्ति पार्टीका नेताहरुलाई विवरण बुझाउनेदेखि विप्लव नेतृत्वको नेकपासहित तीन कम्युनिष्ट पार्टीसँग एकताका लागि संवाद अगाडि बढाउने लगायत विभिन्न प्रस्तावहरू उल्लेख छ