आज रातिदेखि हल्का पानी पर्ने सम्भावना

२०८१ पौष २२ सोमबार ०९:०९:०० मा प्रकाशित

आज रातिदेखि देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । आज दिनभरी देशका विभिन्न ठाउँको मौसम बदली भइ रातिदेखि पानी पर्न थाल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज कोसी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

 

सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भने हल्का पानी पर्नेछ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही मौसम सफा रहनेछ ।

भोलि कोसी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहनेछ । कोसी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ

। यस्तै भोलि राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसमविद् मानन्धरका अनुसार बुधबारबाट देशभरि मौसममा क्रमिक रूपमा सुधार आउने छ ।