गैँडाकोट हाफ म्याराथनका स्वयंसेवकलाई सम्मान

२०८१ पौष १९ शुक्रबार २१:२५:०० मा प्रकाशित

नवलपरासी पूर्व । विजय फाउण्डेसनले गैँडाकोट हाफ म्याराथनका स्वयंसेवकहरूलाई सम्मान गरेको  छ । गत पुस १५ गते सम्पन्न भएको गैँडाकोट हाफ म्याराथनलाई सभ्य र व्यवस्थित बनाउन विजय सामुदायिक शिक्षा सदन र सरस्वती निकेतनका एनसीसी क्याडरहरुले महत्त्वपूर्ण भूमिका निभाएका थिए । विद्यार्थी क्याडरहरूलाई सम्मान गर्दै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख कमला नरालले विद्यार्थीले विद्यालय शिक्षासँगै व्यवहारिक ज्ञान हासिल गर्न आवश्यक भएको बताउनुभएको छ । 


प्याब्सन गैँडाकोटका नगर अध्यक्ष एवं सरस्वती निकेतनका प्रिन्सीपल भरतबाबु कंडेल र विजय सामुदायिक शिक्षा सदनका प्रिन्सिपल चक्रधर पौडेलले सामाजिक क्षेत्रमा गरिएका कार्यले विद्यार्थीमा सामाजिकिकरण हुने अवसर प्रदान गर्ने बताउनुभयो । 


विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले देशकै माटोमा सिर्जनशील बन्न विद्यार्थीहरुलाई प्रेरित गर्नुभएको थियो । गैँडाकोट हाफ म्याराथन २०८१ मा स्वयम्सेवक भइ समाजिक अभियानमा जोडिएको सम्पूर्ण विद्यार्थी तथा विद्यालय परिवारलाई अध्यक्ष सापकोटाले हार्दिक आभार प्रकट गर्नुभएको छ । दुई वटा विद्यालयबाट करिब ८० जना विद्यार्थीहरुले म्याराथनमा स्वयम्सेवकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा चित्रध्वज जिसी, भीमबहादुर पराजुली, प्रेमबहादुर बानीया लगायतको उपस्थिति रहेको थियो ।