परीक्षासम्बन्धी उच्चस्तरीय कार्यदलद्वारा सुझाव माग । 

२०८१ मङ्सिर १८ मंगलबार २१:०६:०० मा प्रकाशित

काठमाण्डौ । परीक्षा प्रणालीमा सुधारबारे अध्ययन गर्न गठित उच्चस्तरीय कार्यदलले सुझाव माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै गत कात्तिक २० गते पूर्व सचिव शङ्करप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गर्नुभएको थियो । राष्ट्रिय परीक्षा बोर्डको समग्र पुनः संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेश तहमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्ट्रेशन शुल्क, राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट लिने गरेको विभिन्न शुल्क एवम् सेवा सञ्चालनका लागि आवश्यक स्रोत सुनिश्चितता, मौजुदा परीक्षा पद्धतिमा गर्नुपर्ने सुधार, विद्यमान परीक्षाको आवश्यकता र औचित्य लगायतका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो । कार्यदलले दिने सुझावलाई अझ व्यवहारिक र कार्यमूलक बनाउन सरोकारवालासँग १५ दिनभित्र सुझाव दिन भनेको हो ।