उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबीच भेटवार्ता ।
काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय सम्बन्ध, रोजगार, व्यापार र भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले कतारी जेलमा रहेका ६७ जना नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गर्नुभएको छ । यस्तै उहाँले नेपाली कामदारको २४ सै घण्टा बीमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र लगायतका विषयमा आवश्यक सहयोग गर्न समेत अनुरोध गर्नुभयो । उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकोमा खुसी व्यक्त समेत गर्नुभयो ।