बीआरआई फ्रेमवर्क हस्ताक्षर गर्न चिनियाँ पक्ष असहमत, आयोजनागत रूपमा मात्रै समझदारी ।

२०८१ मङ्सिर १८ मंगलबार २०:२२:०० मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको छ । तर नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर हुन सकेन । नेपालले ऋणबाहेक अनुदान मात्रै लिने गरी गरेको प्रस्तावमा चिनियाँ पक्षले असहमति जनाएपछि बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेको हो । नेपाली पक्षले तयार पारेको सहकार्य फ्रेमवर्कभित्रका केही शब्दहरुमा चिनियाँ पक्ष सहमत नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसपटक उक्त मस्यौदामा हस्ताक्षर नभएको भ्रमणमा सहभागी अधिकारीहरुले बताएका छन् । नेपालले सन् २०१७ मा बीआरआईको समझादारी–पत्रमा हस्ताक्षर गरेको थियो ।

चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बीआरआई कार्यान्वयन कार्ययोजनामा हस्ताक्षरको प्रस्ताव गरेको थियो । चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर बीआरआई सहकार्य फ्रेमवर्क भन्दै नेपालले ऋण नलिने गरी प्रस्ताव फिर्ता पठाएको थियो । नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ऋण, लगानी, अनुदान जस्ता शब्दहरुमा चिनियाँ र नेपाल पक्षबीच लामो छलफल भएको थियो । तर ९ बुँदे सहमति–पत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार टोखा–छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको छ । नेपाल चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्नसम्बन्धी प्रमाणपत्र आदानप्रदान, फर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल तथा विकास योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र, नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र भएको उहाँले जानकारी दिनुभयो ।