श्रीनिम्बार्काचार्यको ५१२० औं जयन्तीमा गैँडाकोटमा नगरपरिक्रमा
नवलपरासी पूर्व । वैष्णव धर्मका प्रथम उद्घोषक आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं श्रीनिम्बार्क जयन्तीका अवसरमा शनिबार विहान झाँकी सहित शोभायात्रा नगरपरिक्रमा गरिएको छ । श्रीनिम्बार्क दर्शन केन्द्र गैंडाकोट १ देखि शिलन्यास चोक, गोपेश्वर मन्दिर, भृकुटीचोक, मौलाकाली फेदी हुँदै राधाकृष्ण मन्दिर, निम्बार्क दर्शन केन्द्रमा शोभा यात्रा आइपुगेको थियो ।
आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको जयन्तीको अवसरमा अहिंसा र शान्तिको सन्देश दिन, सद्भावको वातावरण सिर्जना गर्न शोभायात्राको आयोजना गरिएको श्रीनिम्बार्क बैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण उपाध्यायले बताउनुभयो ।
शुक्रबार वर्तमानमा वैष्णवधर्मको सान्दर्भिकता र जगद्गुरु श्रीनिम्बार्काचार्य विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा वेदवेदाङ्ग विद्यालय देवघाटधामका विपिन दाहाल प्रथम हुन सफल हुनुभएको छ ।
गैँडाकोट नमुना आवासिय माध्यामिक विद्यालयकी स्वस्तीका खड्का दोस्रो र विजय सामुदायिक शिक्षा सदनका समिर लामिछानेले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । रामानुज वेदविद्याश्रम गैँडाकोट १ का आयुष तिवारीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । शनिबार दीक्षातत्वप्रकाश पुस्तक विमोचन र पुस्तकमाथि टिप्पणी राखिएको छ ।