आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको जयन्तीको अवसरमा आज गैँडाकोटमा नगर परिक्रमा
गैँडाकोट । वैष्णव धर्मका प्रथम उद्घोषक आद्य जगद्गुरु श्रीनिम्बार्काचार्यको ५१२० औं श्रीनिम्बार्क जयन्तीका अवसरमा हिजो र आज श्रीनिम्बार्क दर्शन केन्द्र गैंडाकोट १ मा विविध कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार हिजो विहान ८ बजेदेखि साढे ९ बजेसम्म निम्बार्क सहस्रनाम पाठपारायण गरिएको थियो । यस्तै दिउँसो ११ बजेदेखि अपरान्ह ३ बजेसम्म वर्तमानमा वैष्णवधर्मको सान्दर्भिकता र जगद्गुरु श्रीनिम्बार्काचार्य विषयक अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नारायण सिग्देलले विजय एफएमलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा वेदवेदाङ्ग विद्यालय देवघाटधामका विपिन दाहाल प्रथम हुन सफल हुनुभएको छ । गैँडाकोट नमुना आवासिय माध्यामिक विद्यालयकी स्वस्तीका खड्का दोस्रो र विजय सामुदायिक शिक्षा सदनका समिर लामिछानेले तेस्रो स्थान प्राप्त गर्नुभएको छ । रामानुज वेदविद्याश्रम गैँडाकोट १ का आयुष तिवारीले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
यस्तै आज विहान ८ बजेदेखि १० बजेसम्म भगवान श्रीनिम्बार्काचार्यको झाँकीसहित शोभायात्राले नगर परिक्रममा गर्ने श्रीनिम्बार्क बैष्णव परिषद् नेपालका महासचिव तुलसीशरण उपाध्यायले जानकारी दिनुभएको छ । शोभायात्रा निम्वार्क दर्शन केन्द्र गैँडाकोट १ देखि विकास चोक, शिलन्यास चोक, गोपेश्वर मन्दिर, भृकुटी चोक, प्रतिभा टोल, मिलन चोक, मौलाकाली फेदी हुँदै पुन निम्बार्क दर्शन केन्द्र राधाकृष्ण मन्दिरसम्म पुग्नेछ । आज साढे ११ बजेपछि दीक्षातत्त्वप्रकाश पुस्तक विमोचन र टिप्पणी प्रस्तुतको कार्यक्रम राखिएको छ ।