आदिवासी जनजाति समुदायलाई सहमतिद्वारा क्षमता अभिवृद्धि
नवलपरासी पूर्व । गैँडाकोटमा रहेको सहमति संस्थाले आदिवासी जनजाति समुदायको पहिचान र आवाजलाई अगाडी बढाउन क्षमता अभिवृद्धि गोष्ठी गरेको छ । संस्थाकै तालिम हलमा बिहीबारदेखि शनिबारसम्म तीन दिन सहमति संस्थाले प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।
बिहीबार नवलपुरका आदिवासी जनजाति समुदायका प्रतिनिधिसँग, शुक्रबार चितवनका आदिवासी जनजाति समुदायका प्रतिनिधिसँग र शनिबार जनजाति महासंघको मातहतमा रहेका मगर, थारु, नेवार, तामाङ, गुरुङ, बोटे, भूजेल, दराई, कुमाल आदि समुदायका संघसंस्थाका प्रतिनिधिहरुलाई संस्थागत विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम गरिएको परियोजना संयोजक खेमराज खनालले बताउनुभएको छ ।
कार्यक्रममा स्रोत व्यक्तिका रुपमा थारु सांस्कृतिक संग्रालय र अनुसन्धान केन्द्र र सामुदायिक संरक्षण नेपालका अध्यक्ष बिरेन्द्र महतोले पर्यावरण संरक्षणमा आदिवासी जनजातीको रैथाने सीपको सन्दर्भमा अभिमुखीकरण गर्नुभएको । अर्का स्रोत व्यक्ति सञ्जयकुमार चौधरीले आदिवासी जनजातीको सशक्तिकरण, सामाजिक न्याय, सिमान्तकृत समुदायको सवालमा राज्यका नीतिका बारेमा सहभागिहरुलाई अभिमुखीकरण गराउनुभएको थियो ।
शनिबार संस्थागत रुपमा प्रतिनिधित्व गरेका प्रतिनिधिहरुलाई संस्कृति, जलबायु परिवर्तन र आर्थिक सवाल, दीगो विकास लक्ष्य र आदिवासी जनजातिका सवालका बारेमा अभिमुखीकरण गरिएको परियोजना संयोजक खनालले बताउनुभयो ।
सहमति संस्थाले यही मंसिर ३ गते जलवायु परिवर्तन, जैविक विविधताको संरक्षण, आदिवासी समुदायको संरक्षणमा सहभागिता र भुमिका, आदिवासी जनजाती र स्थानिय समुदायहरुका परम्परागत ज्ञान र शिपद्घारा प्रकृतिमा आधारीत समाधान सम्वन्धि विषयमा बहसको कार्यक्रम गर्न लागेको छ ।
सहमतिले डब्लु डब्लु एफ नेपाल संगको सहकार्यमा प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना चितवन जिल्लाको खगेरी जलाधार क्षेत्रमा र नवलपुर जिल्लाको गिन्द्री जलाधार क्षेत्रमा कार्यान्वयनमा आइरहेको छ । यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थानशिल र स्वस्थ नारायणी निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।
पर्यावरण संरक्षणमा सहमतिको सहकार्यका कारण २० वटा संरक्षण पोखरीहरुले पारिस्थितिक प्रणालीलाई प्रवर्धन गर्ने, जैविक विविधतालाई सहयोग गर्ने र वन इकोसिस्टमको समग्र स्वास्थ्य र कार्यक्षमता बढाएको छ ।