पठन संस्कृति अभियान जस्तै थेसिसमाथि चर्चा गर्ने कार्यक्रम सुरु गर्छु – उपकुलपति अर्याल
नवलपरासी (पूर्व) । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालले विजय एफएमले गैँडाकोटमा गरेको पठन संस्कृति अभियान उत्कृष्ट रहेको बताउनुभएको छ । समाजमा यस अभियानले पठन संस्कृतिको विकास गराउन ठूलो मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । आफूले पनि थेसिस सकेका विद्यार्थीहरु भेला गराई यो अभियानको थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
विद्यालय तहमा पढ्ने संस्कारको विकास गराउन आवश्यक रहेको बताउनुभएको छ । बालबालिकाको मनोविज्ञान बुझेर पढाउने पद्धतिको विकास गरे पठन संस्कृतिको अभियानले विद्यालयहरुका पनि सार्थकता पाउने बताउनुभयो । हाम्रो शिक्षामा व्यवहारिक कम र घोकन्ते प्रवृत्ति ज्यादा रहेको छ, शिक्षालाई व्यवहारिक गराउन यस्तो खालको पठन संस्कृति अभियान सहयोगी हुने हुँदा विद्यालयहरुले पनि सुरु गर्नुपर्ने प्रा.डा. अर्यालले बताउनुभएको छ ।
पठन संस्कृति अभियानको आठौँ श्रृखंलामा बालविकास स्कूलका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । बालविकास स्कूलका विद्यार्थीहरुले विद्या भण्डारीको लौरो कृतिका कविताहरु वाचन गरेका थिए । यस्तै कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य रामचन्द्र कंडेलले गीता ग्रन्थ, विजय विकास स्रोत केन्द्रका अध्यक्ष अध्यक्ष कृष्णप्रसाद सापकोटाले द ओल्ड म्यान एण्ड दी सी, नेपाली काँग्रेस गैँडाकोट सभापति बद्री सापकोटाले भेषबहादुर थापाको राष्ट्र परराष्ट्र, लेखक उदय अधिकारीले बसन्त बस्नेतको सिमसारा उपन्यास, सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले रमेश भूषालको छालबाटो लगायतका कृति माथि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विजय एफएमका उपाध्यक्ष गिरिराज लम्साल, विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटा लगायतको ६० जनाको उपस्थिति रहेको थियो ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।
गत वैशाख १५ गतेबाट यस सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने उद्देश्यले विजय एफएम र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले पठन संस्कृति अभियान सुरु गरिएको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभएको छ । यस अभियानमा विजय विकास स्रोत केन्द्र सहयोगी संस्थाको रुपमा रहेको छ ।