गैंडाकोटमा शनिबार नगर बाल सञ्जाल गठन हुँदै
नवलपरासी (पूर्व) । कार्तिक ३० र मंसिर १ गते संचालन हुने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण तथा गैंडाकोट नगर बाल सञ्जाल गठन कार्यक्रमको समुद्घाटन शुक्रबार गैडाकोट वडा नं २ को नारायणी रिसोर्टमा सम्पन्न भएको छ ।
कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले गैंडाकोट नगरपालिकाले बाल अधिकार संरक्षण र बालमैत्री नगर निर्माण लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने कुरा व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि उपप्रमुख शान्ति कोइरालाले बालबालिका हाम्रा भविष्यका कर्णधार भएकाले नगरपालिकाले वर्तमानमा साझेदार बनाएर अगाडी बढ्ने कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा विशिस्ट अतिथिको रुपमा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, कार्यपालिका सदस्य इश्वरी जि.सि, विभिन्न वडाका वडा अध्यक्ष हरु, गैंडाकोट १ का पूर्व वडा अध्यक्ष हरिप्रसाद सापकोटा, वडा सदस्यहरु, लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिको रुपमा प्रत्येक वडा बाट ४ जनाको दरले बालबालिकाको सहभागीता रहेको छ । कार्यक्रमको दोस्रो चरणमा बालमैत्री अभियन्ता जगन्नाथ उपाध्यायले बाल अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि विषय र नगर बाल सञ्जाल अध्यक्ष आस्था घिमिरेले बाल क्लबका पदाधिकारी र सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष कृतिका भट्टराईले गर्नुभएको थियो ।
जिल्ला बाल क्लव सचिव तथा नगर बाल सञ्जाल सदस्य विशाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम अध्यक्ष आस्था घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियोे । त्यसैगरी भोलि मंसिर १ गते नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम रहेको छ ।