
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ ले वडाबासीहरुलाई स्वस्थकर जीवनशैली बारे प्रशिक्षण दिएको छ । वडा कार्यालयको आयोजनामा आइतबार नमुना शिवनगर खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रममा वडाका अधिकांश गृहिणी सहित करिब १५० जनालाई प्रशिक्षित गरिएको हो ।
गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले पहिला आफूले आफ्नो स्वास्थ्य कसरी अघि बढाउने भनेर जान्न अति आवश्यक भएको बताउनुभयो । उहाँले हरेक व्यक्तिको स्वास्थ्य रक्षा गर्न भान्सामा सुधार हुनुपर्नेमा जोड दिनुभयो । भान्सालाई पूर्ण सुधार गर्न सके रोग लाग्ने सम्भावना कम हुने उहाँको तर्क थियो । कतिपय बेला अन्जानमा समेत पकाइने खानाले स्वास्थ्यमा नकारात्मक असर गर्ने बताउँदै त्यस्ता खाना रोक्न पनि प्रशिक्षण जरुरी रहेकोले वडामा स्वस्थकर जीवनशैलीका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रशिक्षण दिदैँ सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका निर्देेशक डा. विनोद पौडेलले स्वस्थकर जीवनशैली प्रवद्र्धनमा भूमिका खेल्न गृहिणीहरुलाई आग्रह गर्नुभयो । आँफैले उत्पादन गरेका अग्र्यानिक खाना नै उत्तम हुने बताउँदै उहाँले बजारिया खानाले सुगर, प्रेसरलगायत अनेक समस्या आएको उल्लेख गर्नुभयो । दही, दूध, सागसब्जीमा चासो राख्नेहरु कम भएको उल्लेख गर्दै उहाँले स्वस्थकर जीवन शैली घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
चिकित्सालयका निर्देशक डा. पौडेलले सर्ने भन्दा नसर्ने रोगका कारण मृत्युदर बढी रहेको तर्क गर्दै नसर्ने रोगहरु बढ्ने कारण आहार विहार र जीवन शैली भएको बताउनुभयो । आहार विहार र जीवनशैली बदल्यौं भने रोग रोक्न सकिने उहाँको भनाइ छ ।
डा. पौडेलले गलत खानपान, व्यायमको कमी, तनावयुक्त जीवन, आरामको कमी र प्रदुषित वातावरण स्वस्थ जीवनशैलीका बाधक रहेको बताउनुभयो । जति सकिन्छ प्राकृतिक बन्न सुझाव दिदैँ उहाँले शारीरिक श्रम गर्न आग्रह गर्नुभयो । उहाँले जीवन शक्ती बढाउन खानपानमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । भान्सामा कस्ता सामग्री लैजाने कस्ता नलैजाने भन्नेबारे जानकारी गराउनुभएको थियो ।