विजय आधारभूत विद्यालयमा विद्यालय सुधार निर्माण कार्यशाला सम्पन्न 

२०८३ असार २८ आइतबार १९:४५:०० मा प्रकाशित

नवलपुर, २८ असार । गैंडाकोट वडा नं ८ मा अवस्थित विजय आधारभूत विद्यालयले विद्यालय सुधार योजना -SIP_ निर्माण कार्यशाला आइतबार विद्यालय परिसरमा सम्पन्न गरेको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत रामप्रसाद अधिकारीले विद्यालयले निरन्तर प्रगति गर्दै गएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सुधारको दरलाई कसरी बढाउन सकिन्छ भन्ने कुरा  विद्यालय सुधार योजनाले समेट्नु पर्ने कुरा बताउनुभयो । साथै उहाँले विद्यालय सुधार योजना शैक्षिक उपलब्धि बृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यशालामा गैंडाकोट नगर शिक्षा समितिका सदस्य दोलराज पाण्डे र शिक्षा अधिकृत रामप्रसाद अधिकारीले विद्यालय सुधार योजनाको आवश्यकता, महत्व, योजना निर्माण प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो । शैक्षिक सत्र २०८२ को शैक्षिक एवं भौतिक उपलब्धि सहितको विद्यालयको तथ्याङ्कीय प्रतिवेदन विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले प्रस्तुत गर्नुभएको थियो ।

 

कार्यशालामा गत शैक्षिक सत्र २०८२ को समिक्षा गर्दै विद्यालयले गरेका शैक्षिक क्रियाकलाप , भौतिक एवं शैक्षिक उपलब्धिका बारेमा अन्र्तक्रियात्मक छलफल भएको थियो । कार्यशालामा शैक्षिक सत्र २०८३ का शैक्षिक, आर्थिक एवं भौतिक योजनाहरुको प्राथमिकीकरण गर्ने कार्य गरिएको छ । कार्यशालमा जनप्रतिनिधिहरु खगेश्वर सापकोटा र तर्कबहादुर थापा एवं अभिभावको तर्फबाट किशोर काफ्ल् विद्यालयले सुधार गर्नुपर्ने पक्षका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यशालाले शैक्षिक सत्र २०८३ का विद्यालय सुधार योजना निर्माण एवं अद्यावधिक गर्नका लागि विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेको संयोजकत्वमा विद्यालय सुधार योजना -SIP_ निर्माण समिति गठन गरेको छ । समितिको सदस्यमा जनप्रतिनिधीबाट वडा नं ८ का वडा सदस्य खगेश्वर सापकोटा, विद्यालय व्यवस्थापन समितिबाट कौशिला खत्री, शिक्षक अभिभावक संघबाट तारा परियार र शिक्षकबाट तेजलाल अर्याल रहनुभएको छ ।
कार्यशालामा जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघ सदस्यहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, अभिभावकहरु ,शिक्षकहरु र विद्यार्थीहरुको  उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर कुमालको अध्यक्षतामा सम्पन्न सो कार्यशालाको कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक सोवनाथ पौडेलले गर्नुभएको थियो ।