नारायणी सामुदायिक वन द्धारा विभिन्न विधाका कार्यक्रम सम्पन्न

गरिब विपन्न घरको शिलान्यास, महिला शशक्तिकरण कार्यक्रमको उद्धघाटन

२०८३ असार २७ शनिबार १९:२३:०० मा प्रकाशित

गैँडाकोट। गैँडाकोट–६,७ र ९ मा कार्य क्षेत्र रहेको नारायणी सामुदायिक वनले वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विभिन्न विधामा रहेर कार्यक्रम गरेको छ। शनिबार वनको आफ्नै परिसरमा भएको कार्यक्रममा गरिब विपन्न घर शिलान्यास, खानेपानीका धारा, स्वास्थ्य बीमा कार्ड, छात्र छात्रा स्टेशसरी, छात्रवृत्ति वितरण ,उज्यालो टोल र महिला सशक्तिकरणको लागि तालिमको उद्धघाटन गरेको हो । यसअन्तर्गत महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले २१ दिने बिजुली, प्लम्बिङ, एसि, फ्रिज, ग्याँस चुलो मर्मत सम्बन्धी तालिमको पनि उद्घघाटन गरिएको हो भने सीपमूलक तालिम आइतबारदेखि सुरु हुनेछ । 

कार्यक्रममा ७४ जना विपन्न छात्र छात्रालाई स्टेशनरी वितरण, ५२ घर परिवारलाई स्वास्थ्य बीमा, दुई जना उपभोक्तालाई  खानेपानीको धारा जडान, त्यस्तै गैंडाकोट वडा नम्बर ६ का जीवन बोटेलाई दुई कोठे घर निर्माणको लागि शिलन्यास गरेको छ ।  त्यस्तै तीनजना विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गरेको छ । कार्यक्रममा उज्यालो टोल अन्तर्गत समूहको क्षेत्रभित्र रहेका टोल विकास संस्थालाई १ लाख ९७ हजार बराबरको चेक प्रदान गरिएको समुहको सचिव सिता गिरीले जानकारि दिनु भयो ।

त्यस्तै महिला सशक्तिकरण अन्तर्गत २१ दिने बिजुली, प्लम्बिङ, एसि, फ्रिज, ग्याँस चुलो मर्मत सम्बन्धी तालिमको पनि उद्घाटन गरेको कार्यलय सचिव हरि सापकोटाले जानकारी दिनुभयो । तालिमको प्राविधिक सहयोग पब्लिक शाइनिङ टेक्निकल इन्स्टिच्युट गैंडाकोट ६ ले गरेको छ।

कार्यक्रममा डिभिजन बन कार्यलय नवलपरासी (ब.सू.पुर्व)का प्रमुख बिष्णु प्रसाद अधिकारीले नारायणी सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक, आर्थिक तथा सीप विकासको क्षेत्रमा प्रभावकारी काम गरिरहेको बताउनुभयो । भन्दै प्रशंसा गर्नुभयो। उहाँले महिला उद्यमशीलता, वातावरण संरक्षण र सामुदायिक सहभागितालाई अघि बढाउँदै वन व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त  गर्नुभयो । प्रमुख अधिकारीले आगामी दिनमा डिभिजन वन कार्यालय र समूहबीच आवश्यक समन्वय, सहकार्य तथा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले वन समुहले गरेको कामको मुल्यांकन बाट यो बर्ष जिल्लामा उत्कृष्ठ बनेकोमा बधाई दिनुभयो । 

गैँडाकोट नगरपालिका वडा ६ का वडाध्यक्ष सुभाष चापाँगाईले नारायणी सामुदायिक वनले समुदायको हितमा सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउँदै यस्ता तालिम तथा सामाजिक कार्यक्रम आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो। 

सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य कमलप्रसाद पराजुलीले बनले गरेका कार्यक्रमहरुले सम्बन्धित उपभोक्ताहरुको हितमा भएको बताउनु भयो । 

समूहका अध्यक्ष नेत्रराज सापकोटाले समुहका उपभोक्ताको हितमा सधै काम गदै आएको भन्दै सीपमूलक तालिम, शिक्षा, सामाजिक तथा वातावरण संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो। अध्यक्ष सापकोटाले आगामी दिनमा अझ व्यावहारिक तथा आयमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने बताउनु भयो।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा,नारायणी सामुदायिक वनका निवर्तमान अध्यक्ष दिनानाथ त्रिपाठी, जय श्री सामुदायिक वनका अध्यक्ष भीम बहादुर कुमाल, समूहका सल्लाहकार नारायण पौडेल, सूर्यदिप साकोसका अध्यक्ष दीपादेवी सापकोटा, सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भीमप्रसाद सापकोटा, टोल विकास संस्थाको तर्फबाट शक्ति टोल विकास संस्थाका अध्यक्ष वर्णबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सब डिभिजन कार्यालय गैडाकोटका रेन्जर संगीत पराजुली, नारायणी सामुदायिक वनका अभिनन्दित व्यक्तित्वहरू, समुहका कार्यसमिति, समाजसेवी, बुद्धिजीवी, उपभोक्ताहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा विपन्न परिवारको घर निर्माणको लागि करिब ४ लाख ५० हजार, त्यस्तै कपी, स्टेशनरीको लागि १ लाख १० हजार, खानेपानी धारा जडानको लागि ४० हजार, महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत २ लाख ४० हजार, उज्यालो टोल अन्तर्गत टोल विकास संस्थालाई १ लाख ९७ हजार, त्यस्तै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १ लाख ८५ हजार खर्च भएको समुहले जनाएको छ  ।