देउराली सामुदायिक वन गैंडाकोट ३ द्वारा गरिब विपन्न सदस्यहरूलाई मौरीघार

किराना पसल तथा विपन्न घर हस्तान्तरण 

२०८३ असार २६ शुक्रबार १७:३९:०० मा प्रकाशित

गैंडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३ द्वारा गरिब विपन्न सदस्यहरूलाई मौरीघार, किराना पसल तथा विपन्न घर निर्माण गरी हस्तान्तरण गरेको छ। शुक्रबार वन समुहको सभाहलमा कार्यक्रम गदै गरिबी न्यूनिकरण अन्र्तगत समूहका ५ जना उपभोक्ता सदस्यलाई किराना पसल तथा ५ जना सदस्यलाई मौरीघार वितरण र १ जना गरिब विपन्न उपभोक्तालाई घर हस्तान्तरण गरिएको छ । समुहले किराना पसल तथा मौरीघारको लागि समूहको ५० हजार लागत र उपभोक्ता सदस्यको १२ हजार ५ सय गरी ६२, हजार ५ सय प्रति व्यक्तिलाई प्रदान गरिएको समूहका अध्यक्ष नरबहादुर मुक्मि मगरले जानकारी दिनुभयो  । त्यस्तै १ जना गरिब विपन्न उपभोक्तालाई करिब ३ लाख ६२ हजार बराबरको घर निर्माण गरी हस्तान्तरण गरिएको कार्यालय सचिव बिजेस आलेले जानकारी दिनुभयो। 

गैडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गरिब विपन्न परिवारको आयआर्जनको स्तरलाई बढाउनको लागि मौरीघार र किराना पसल हस्तान्तरण गरेको गर्नु राम्रो काम भएको बताउनुभयो। नगर प्रमुख अधिकारीले वनले दिएको समानबाट सदस्यहरूले आयआर्जनमा वृद्धि गर्ने गरी काम गर्न आग्रह गर्नुभयो। मौरीघार र सामान्य किरानालाई व्यवसायिक रुपमा अगाडि बढाउन पनि शुभकामना दिनुभयो । 

गैडाकोट वडा नम्बर ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले वडामा रहेका वनमध्ये पछिल्लो समयमा देउराली सामुदायिक वन उत्कृष्ट सामुदायिक वनमा परिचित भएको बताउनुभयो । “सामुदायिक वनले महत्वपूर्ण काम गर्दै आएको छ । गत वर्ष ४ लाखको लागतमा सातवटा घर निर्माण गरी हस्तान्तरण गरेको थियो, गरिब विपन्न परिवारलाई वार्षिक रुपमा कार्यक्रममा समेटेको, सात जनालाई दैनिक कर्मचारीको रुपमा रोजगारी दिएको छ उहाँले भन्नुभयो ”। वडा अध्यक्ष तिवारीले  नगर तथा वडाले अबका दिनमा यस्ता सामुदायिक वनलाई प्रोत्साहन गर्न, नीति निर्माण गररे अगाडि बढाउन  जरुरी रहेको बताउनुभयो। 

सब डिभिजन बन कार्यालय गैडाकोटका प्रमुख सन्तोष मिश्रले गैडाकोटमा २४ वटा सामुदायिक वन रहेका छन् ति मध्ये उदाहरणीय रुपमा देउराली सामुदायिक वन सधैँ अग्रणी रुपमा भूमिका खेलेको बताउनुभयो। प्रमुख मिश्रले वन संरक्षणमा राम्रो भूमिका छ, गरिबी न्यूनीकरण, आयआर्जनका कार्यक्रम पनि अगाडि बढाइ रहन आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “ मौरीघार वितरण गर्नु राम्रो भएको भन्दै मौरी र मानवको जीवन एक आपसमा जोडिएको हुन्छ। जब मौरी यो संसारबाट विनाश हुन्छ हाम्रो अस्तित्व पनि विनाश हुन्छ। वनस्पतिलाई परागसेचन गर्ने मौरी हो, सानो जिव छ  तर यसको महत्व ठूलो छ । उहाँले सामुदायिक वनमा टुनीका रुखहरू छन, खेर गइरहेका टुनीका काठहरुलाई प्रयोग गरेर मौरीका घार निर्माण गरी उद्यमको रुपमा अगाडि बढाउन सकिने बताउनुभयो। उहाँले आगामी दिनमा वनले जैविक मल उत्पादन गर्न, स्थानीय तह, वडा र विभिन्न संघ संस्थासँग सहकार्य गरेर उद्यममा पनि लगानी गर्न सकिने बताउनुभयो ।

समूहका पूर्व अध्यक्ष एवं लेखा समिति संयोजक ठाकुरप्रसाद रिमालले गरिबी न्युनिकरणको लागि सदस्यलाई आयआर्जनमा टेवा पुग्ने गरी यस वर्ष फरक ढंगबाट कार्यक्रम अगाडि बढाइएको बताउनुभयो। रिमालले सामुदायिक वनले मौरीपालन प्रवद्धनको लागि पनि मद्दत पुग्ने र वनमा आउने आगन्तुकलाई मायाको चिनोको रुपमा मह दिन सकिने भएकोले मौरिघार प्रदान गरेको बताउनुभयो। उहाँले केही लक्षित वर्ग छुट्नुभएको छ उहाँलाई पनि आगामी दिनमा जोड्दै जाने बताउनुभयो।

देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मुक्मी मगरले गरिबी न्यूनिकरण एवं जिबिकोपार्जन अन्र्तगत मौरि सहितका मौरीघार , किराना पसल सञ्चालनको लागि लैजाने उपभोक्ता सदस्यले त्यसलाई बढाउँदै जानुभयो भने उत्कृष्टलाई पुरस्कृत पनि गरिने बताउनुभयो। अध्यक्ष मुक्मी मगरले गरिब विपन्नको लागि घर निर्माण गरि हस्तान्तरण गरिएको र अगामि दिनमा पनि अनुगमन गरेर आवश्यक भएका लाई घर निर्माण गरिने बताउनुभयो। 

कार्यक्रममा गैडाकोट वडा नम्बर ३ का जनप्रतिनिधि सुकमाया बिक, वेदबहादुर थापा, सुर्यमाया दर्लामी, गोपाल पुलामी, पूर्व अध्यक्ष एवं सल्लाहकार नरबहादुर कुँवर, नगर प्रमुख सचिवालयका कर्मचारि ईश्वरी आचायर्, श्रीकृष्ण गण्डकी माविका प्रधानाध्यापक सुर्यनाथ तिवारी, जलदेवी सामुदायिक वन समूहका अध्यक्ष खड्कबहादुर सुनारी, अस्थायी प्रहरि पोस्ट ढोडेनीका प्रहरी सहायक निरीक्षक लोकराज तिमिल्सिना, लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी, समाजसेवी, व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा देउराली सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्ष सुमित्रा मिश्रले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण वनका कार्यालय सचिव विजेश आलेले गर्नुभएको थियो।