पठन संस्कृति अभियानको २०औँ शृङ्खला सम्पन्न
गैँडाकोट । पठन संस्कृतिको विकास र साहित्यिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको पठन संस्कृति अभियानको २०औँ शृङ्खला शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा वक्ता हरि शर्माले साहित्यकार विपी कोइरालाको साहित्यलाई नेपाली सीमाभित्र मात्र नभई अन्तर्राष्ट्रिय साहित्यसँग तुलना गरेर अध्ययन र मूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विपीको साहित्यले मानव मनोविज्ञान, स्वतन्त्रता र लोकतान्त्रिक चेतनालाई गहिरो रूपमा उजागर गरेको बताउनुभयो।
त्यसैगरी लेखक तथा पत्रकार अश्विनी कोइरालाले साहित्य पोस्ट अनलाइन पत्रिकाको स्थापना, उद्देश्य र साहित्य प्रवर्द्धनमा यसको भूमिकाबारे जानकारी गराउँदै पठन संस्कृति अभियानले समाजमा अध्ययन र पुस्तकप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
कार्यक्रममा पुस्तकमाथि पनि समीक्षा तथा छलफल गरिएको थियो। सरस्वती तिमिल्सिनाले स्वस्पर्श पुस्तकमाथि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो भने गणेश गमनले विपी कोइरालाको आत्मकथा पुस्तकमाथि समीक्षा गर्नुभएको थियो।
साहित्यिक प्रस्तुतिअन्तर्गत लेखराम सापकोटाले गजल वाचन गर्नुभएको थियो भने इन्द्रराज पौडेलले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले पठन संस्कृतिको विकास, साहित्य सिर्जना तथा पुस्तकमार्फत समाज रूपान्तरणका विषयमा आफ्ना विचार राख्नुभएको थियो।
पठन संस्कृति अभियानका अभियन्ता त्रिलोचन सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी तथा पुस्तकप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले अध्ययन संस्कृतिको विस्तार, साहित्यिक विमर्श तथा सिर्जनशील वातावरण निर्माणमा सकारात्मक टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए।