भिडिआरसीको ४८ औँ वार्षिकोत्सवमा सामाजिक संवाद, नवप्रवर्तनमा लगानी बढाउन जोड

२०८३ असार २६ शुक्रबार २०:१४:०० मा प्रकाशित


नवलपरासी पूर्व । विजय विकास स्रोत केन्द्रले ४८ औँ वार्षिकोत्सवका अवसरमा सामाजिक संवाद कार्यक्रम गरेको छ । सरकारको नीति कार्यक्रम र बजेटमा साना तथा मझौला उद्योग र सहकारी विषयक संवाद कार्यक्रममा मुख्य वक्ता बरिष्ठ अर्थशास्त्री प्राद्यापक डाक्टर अच्यूत वाग्लेले साना मझौला उद्योग र सहकारीको वर्तमान अवस्था र आगामी कार्यदिशाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्राद्यापक डाक्टर वाग्लेले वजेट भन्दापनि नीतिको विषयमा बहसको आवश्यकता रहेको बताउनु भएको छ । नेपालको करिब आधा जनसंख्या सहकारी र उद्योग प्रतिष्ठानमा आवद्धता रहेको बताउँदै यो संबाद सान्दर्भिक रहेको बताउनु भएको छ । 


आफ्नो प्रस्तुतीमा प्राध्यापक डाक्टर वाग्ले भन्नुहुन्छ  “नव प्रवर्तनमा अब पनि लगानी नगरे अर्को पुस्ता पनि खाडी तर्फ रोकिने छैन ।” राष्ट्रिय स्टार्ट अप उद्यम नीति २०८१ का बारेमा जानकारी दिदै सूचना प्रविधि, हरित अर्थतन्त्र र डिजिटल सहकारीको अवधारणामा अघि बढ्न आग्रह गर्नु भयो ।


उपस्थित बहुपक्षिय सरोकारवालालाई सुझाव दिनु भएका प्राद्यापक डाक्टर वाग्लले प्रविधि नवप्रवर्तनका क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भएको छ । यसका साथै वित्तिय संस्थाबाट उत्पादन मुखी सहकारी बन्नु पर्ने, जोखिम नियमन संयन्त्र प्रभावकारी बनाउनुपर्ने, तीन तहका सरकारबीच स्पष्ट समन्वय र डिजिटल सुशासनको बाटो तय गर्नुपर्ने बताउनुभएको छ । 


सामाजिक संवाद कार्यक्रमको संश्लेषण गर्दै राजनीतिक तथा सामाजिक विश्लेषक हरि शर्माले समाज रुपान्तरणको चरणमा सामाजिक तथा नागरिक समाजको योगदान र अबको भूमिका विषयमा प्रकाश पार्नुभएको थियो । 


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी र  विशिष्ट अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले सामाजिक शैक्षिक तथा स्थानीय विकासको मार्गचित्र निर्माणमा विजय विकास स्रोत केन्द्रको भूमिका उल्लेख गर्दै प्रशंसा तथा शुभकामना प्रदान गर्नुभएको छ । 


विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक संवादबाटै समाजमा स्थापना भएको भिडिआरसीले स्थापना दिवशमा सामाजिक संवादको आयोजना गरेको बताउनुभएको छ । अहिले समाजमा आर्थिक क्षेत्रमा देखा परेका थुप्रै चुनौती, भ्रम र यर्थाथबारेमा सरोकारवाला पक्षहरुलाई जानकारी दिनका लागि कार्यक्रम गरिएको बताउनुभयो । 


सामाजिक संवाद कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले विकूको वित्तिय तथा गैरवित्तय सेवाका गतिविधिका बारेमा जानकारी दिनुभएको छ । समाजमा सामाजिक आर्थिक रुपान्तरणमा विकूले गरेको अभ्यासको बारेमा प्रमुख अधिकृत पौडेलले जानकारी गराउनुभएको हो । 


कार्यक्रममा उद्योग वाणिज्य संघ गँैडाकोट नवलपुर, विकू सहकारी, नागरिक समाज, रिटर्नी माइग्रेसन संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


संवाद कार्यक्रममा सम्पूर्ण सहभागिहरुलाई विजय विकास स्रोत केन्द्रका सचिव एवम् विकूका अध्यक्ष प्रेमप्रसाद सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहसचिव श्रीधर उपाध्यायले गर्नुभएको थियो । 


संवाद कार्यक्रम पश्चात विजय विकास स्रोत केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राजनीतिक तथा सामाजिक विश्लेषक हरि शर्मा, पत्रकार तथा लेखक अश्विनी कोइराला, विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, पूर्व अध्यक्ष इन्द्रराज ज्योती पौडेल, निवर्तमान अध्यक्ष लक्ष्मी कंडेल, वर्तमान अध्यक्ष कृष्ण सापकोटा लगायतले संस्थाको इतिहासको स्मरण गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना कार्यक्रममा संस्थाका उपाध्यक्ष डा. भूमिराज चापागाईंले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव प्रेमप्रसाद सापकोटाले गर्नुभएको थियो ।