गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा १६० घण्टे कफी बनाउने तालिम सुरु    

२०८३ जेठ ८ शुक्रबार १५:२६:०० मा प्रकाशित

गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा १६० घण्टे कफी बनाउने तालिम सुरु भएको छ। गैँडाकोट नगरपालिका तथा वडा नम्बर ५ को आयोजनामा बिक्रमबाबा इन्जिनियरिङ एण्ड टेक्निकल कलेज प्रा.लि. कावासोती–८ को सहजीकरणमा तालिम सञ्चालन गरिएको हो।तालिममा गैँडाकोट नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका ३० जना युवा–युवतीहरूको सहभागिता रहेको छ। 

कार्यक्रमको उद्घाटन तथा सभापतित्व वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले गर्नुभएको थियो। उहाँले युवाहरूलाई व्यावसायिक सीपमा दक्ष बनाउँदै स्वदेशमै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।

तालिममा सहभागीहरूलाई आधुनिक कफी तयारी, रोस्टिङ, प्रस्तुतीकरण तथा बिक्री प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ। तालिमका प्रशिक्षक संगम रिजाल रहनुभएको छ।

कार्यक्रममा कार्यपालिका सदस्य शान्ती न्यौपाने, वडा सदस्य उषा परियार, रोजगार संयोजक तारा उपाध्याय, सहायक पाँचौँ मिना सापकोटा तथा बिक्रमबाबा इन्जिनियरिङ एण्ड टेक्निकल कलेज प्रा.लि.का तालिम संयोजक विवेक अधिकारीलगायतको उपस्थिति रहेको थियो।