गैंडाकोट नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूको आँखा परीक्षण

२०८३ जेठ ६ बुधबार १९:०१:०० मा प्रकाशित

गैंडाकोट । गैँडाकोट-२ स्थित गैंडाकोट नमुना माध्यमिक विद्यालयमा विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राबिधिक सहयोग तथा विद्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरी दृष्टिसम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य गोपेन्द्र केसरी न्यौपानेले बताउनुभयो । परीक्षणका क्रममा विद्यार्थीहरूको दृष्टि जाँच, आँखासम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो । कक्षा १ देखि १० सम्मका ८ सय १८ विद्यार्थीहरूको आँखाको स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षण गरिएकामध्ये २९ जना विद्यार्थीलाई निशुल्क चस्मा बितरण गरिएको थियो भने ९ जना विद्यार्थीलाई आँखासम्बन्धी जाँचका लागी भरतपुर आँखा अस्पताल रिफर गरिएको  विद्यालयका प्राचार्य न्यौपानेले बताउनुभयो ।


यस कार्यक्रमले बालबालिकामा समयमै आँखासम्बन्धी समस्या पहिचान गरी उपचारमा सहज हुने विद्यालयले जनाएको छ ।