गैँडाकोट–८ मा अपाङ्गता भएको व्यक्तिहरूलाई सम्मान कार्यक्रम सम्पन्न
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा अपाङ्गता भएका व्यक्तिसँग जनप्रतिनिधिको सम्मान तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिहीबार वडा कार्यालयको सभाहलमा वडा नम्बर ८ को आर्थिक सहयोग तथा सुनौलो अपाङ्ग स्वावलम्बन समूहको आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष प्रेम सापकोटाले आगामी वर्ष फरक क्षमता भएका व्यक्ति तथा उहाँहरूका परिवारसँग एकदिने मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने योजना रहेको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा सहज रूपमा घुलमिल हुन वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिका हक–अधिकारका विषयमा केन्द्र सरकारसँग समेत पहल गर्ने बताउनुभयो।उहाँले व्यवसाय गरी जीविकोपार्जन गरिरहेका अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक प्राविधिक सामग्री उपलब्ध गराउने तथा अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षाको अधिकार सुनिश्चित गर्न सरोकारवालासँग छलफल गरिने जानकारी दिनुभयो।

सुनौलो अपाङ्ग स्वावलम्बन समूहकी अध्यक्ष लक्ष्मी अधिकारीले आफू पनि अपाङ्गता भए तापनि वडा नम्बर ८ मा रहेका अपाङ्गता भएका व्यक्तिहरूको घर–घरमा पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिएको बताउनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता र समस्या समाधानका लागि प्रत्येक महिनाको १० गते वडामा बैठक सञ्चालन हुँदै आएको जानकारी दिँदै आफ्नो जीविकोपार्जनमा आएका समस्या समाधानका लागि वडामा आएर आफ्ना कुरा राख्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा करिब ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई चामल, आटा, पिठोलगायत खाद्य सामग्री वितरण गरिएको थियो। साथै महिलाहरूलाई सेनिटरी प्याडसहित विभिन्न स्वास्थ्य सामग्री पनि वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा बालबालिका तथा महिला विभाग प्रमुख राधा लम्साल र सुसिला परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो। तारादेवी पण्डितले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण टोल सुधार समितिका सदस्य पद्मा सुवेदीले गर्नुभएको थियो।