गैँडाकोटमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न
गैँडाकोट । गैँडाकोटमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि सरोकारवालासँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार गैंडाकोट–४ स्थित जनक नमूना प्रा.वि.को सभाहलमा आयोजना गरिएको हो । कार्यक्रम मौलाकालिका सामुदायिक सिकाइ केन्द्र गैंडाकोट–४ को आयोजना तथा गैंडाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगर शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्यले विद्यालय जाने उमेरका बालबालिका किन विद्यालयमा उपस्थित हुँदैनन् भन्ने विषयमा विस्तृत छलफल गर्दै विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि आवश्यक प्रशिक्षण दिनुभएको थियो । उहाँले बाल विवाह, सामाजिक विभेद, गरिबी, अभिभावकमा चेतनाको कमी लगायतका कारणले केही बालबालिका विद्यालय बाहिर रहने गरेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि तथ्याङ्क सङ्कलन, विशेष अभियान सञ्चालन, साक्षरता कार्यक्रम अघि बढाउने तथा नगरपालिका सहित सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

मौलाकालिका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमल प्रसाद पराजुलीले नगरभित्र कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा शिक्षाको विकासका लागि नगरपालिका, वडा, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थी सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत राम प्रसाद अधिकारी, वडा नं. ७ का वडाध्यक्ष होमनाथ सापकोटा, वडा नं. ६ का वडाध्यक्ष सुभाष चापागाईं, वडा नं. ४ का वडाध्यक्ष तेज प्रसाद घिमिरे, वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटा, नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने, जनक मा.वि.का प्रधानाध्यापक बुद्धि सागर पण्डित लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थी तथा शैक्षिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव याम माया पुलामी मगरले गर्नुभएको थियो ।