गैँडाकोट–४ मा एक महिने निःशुल्क बाद्यवादन तालिम सुरु
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ४ मा महिला दिदीबहिनीहरूका लागि एक महिने निःशुल्क बाद्यवादन तालिम सुरु भएको छ। वडा नं. ४ को संयोजन तथा महिला सञ्जालको आयोजनामा सञ्चालन भएको तालिम जेठ ८ गतेदेखि असार ७ गतेसम्म चल्नेछ।
टोल विकास संस्थाभित्र रहेका महिला सदस्यहरूलाई लक्षित गरी सुरु गरिएको तालिममा भजन–कीर्तन लगायत विभिन्न सांगीतिक कार्यक्रममा आफ्नै टोलका सदस्यहरूको सहभागिता र दक्षता अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रम उद्घाटनका अवसरमा वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले तालिमबाट सिकेका सीप टोल विकास संस्थामा हुने विभिन्न सांगीतिक कार्यक्रमहरूमा उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले आगामी बजेटमार्फत पनि महिला दिदीबहिनीहरूका लागि थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महिला सञ्जालकी अध्यक्ष अनिता काफ्ले घिमिरेले तालिममा सहभागी महिलाहरूलाई लगनशीलताका साथ सिकेर दक्ष बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा समाजसेवी टोलनाथ घिमिरे, वडा सदस्य शान्ता घर्ती, जयश्री वनका अध्यक्ष भीमबहादुर कुमाल, बामदेव घिमिरे, इन्दुकला घिमिरे लगायत टोलवासीहरूको उपस्थिति रहेको थियो। सञ्जालकी उपाध्यक्ष माया कँडेल घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सञ्जालकी सहसचिव रुमिला घिमिरेले गर्नुभएको थियो।
तालिममा महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको छ भने प्रशिक्षकका रूपमा हरि पौडेल रहनुभएको छ।