देशभर २४ घण्टामा ३८ विपद्का घटनाः तीन जनाको मृत्यु

२०८२ चैत १४ शनिबार १७:२३:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भएका छन् । यी घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् ।

 

प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार यस अवधिमा एक करोड १४ लाख ७२ हजार रुपँैया बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । त्यस्तै, प्राधिकरणकाअनुसार आगलागीका १५ घटनामा परी दुई जनाको मृत्यु भएको छ । आगलागीबाट १३ जिल्ला प्रभावित भएका छन् भने एक जना घाइते भएका छन् । त्यस्तै, सर्पदंशका दुई घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको थियो ।


पछिल्लो २४ घण्टामा बाढीका पाँच, पहिरोका चार, चट्याङका पाँच र हावाहुरीका तीन वटा घटना भएका छन् । चट्याङका कारण नौ जना घाइते भएका छन् भने हावाहुरीबाट एक जना घाइते भएका छन् । बाढी प्रभावित क्षेत्रबाट ११ जनाको सफल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यसैगरी, वन डढेलोका दुई, अविरल वर्षाको एक र जनावर आक्रमणको एउटा घटना दर्ता भएको छ । विगत एक वर्षको (२०८२ वैशाख १ देखि) तथ्याङ्क हेर्दा कुल विपद्का घटना सात हजार २ सय ७९ पुगेका छन् । यी घटनामा हालसम्म ४ सय ८१ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता छन् । यस्तै, घाइतेको सङ्ख्या एक हजार ९ सय ६ पुगेको छ भने १३ हजार १ सय ५१ परिवार प्रभावित भएका छन् ।


प्राधिकरणका अनुसार यस वर्ष वैशाखयता आगलागीबाट सबैभन्दा बढी १ सय २ जनाको मृत्यु भएको छ । बाढीबाट ३८, पहिरोबाट ७६ र सर्पदंशका कारण ९८ जनाले ज्यान गुमाएका छन् ।