गैँडाकोट-९ मा श्रीहनुमान जयन्ती विविध कार्यक्रमसहित मनाइने

२०८२ चैत १४ शनिबार १६:१४:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट-९ स्थित चक्रघाटमा रहेको श्रीहनुमान मन्दिरमा यस वर्षको श्रीहनुमान जयन्ती यहीँ चैत्र १९ गते भव्य रूपमा मनाइने भएको छ । शनिबार श्रीहनुमान मन्दिर समिति चक्रघाटले पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी गराएको हो ।


समितिका अनुसार चैत शुक्ल पूर्णिमाका दिन मनाइने जयन्तीको अवसरमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमअन्तर्गत श्रीहनुमानजीको विशेष पूजन, हनुमान चालिसा पाठ, अखण्ड श्रीहरिनाम संकीर्तन, दीप प्रज्वलन, आरती तथा प्रसाद वितरण लगायतका कार्यक्रम रहनेछन् ।


कार्यक्रम बिहान ५ बजे नियमित पूजनबाट सुरु भई ६ बजे विशेष पूजा गरिनेछ । बिहान ७ बजेदेखि १२ घण्टे अखण्ड संकीर्तन सञ्चालन हुनेछ भने १० बजे श्रीहनुमानजीलाई ५१ केजी लड्डु भोग अर्पण गरिने समितिले जनाएको छ । साथै बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म संस्थाको १५औं वार्षिक साधारण सभा सञ्चालन गरिनेछ।

 

यसैगरी, बेलुका ५ बजे दीप प्रज्वलन, ६ बजे विशेष सन्ध्या आरती तथा साँझ ७ बजे संकीर्तन समापनसहित आरती, पुष्पाञ्जली र प्रसाद वितरण गरिने कार्यक्रम रहेको समितिले जनाएको छ। सोही दिन बिहान ९ः३० बजेदेखि बेलुका ६ बजेसम्म आजीवन सदस्यता प्रदान, प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम पनि आयोजना गरिनेछ ।


श्रीहनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलाधर कंडेलले धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै चक्रघाट क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रमलाई अझ व्यापक बनाइएको बताउनुभयो । उहाँले श्रीहनुमान जयन्तीलाई यस क्षेत्रकै महत्वपूर्ण धार्मिक उत्सवका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत जानकारी दिनुभयो ।


त्यसैगरी, समितिका सचिव उमा कुमारी पाण्डेले कार्यक्रम सफल बनाउन सम्पूर्ण श्रद्धालु, स्थानीयवासी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो । धार्मिक आस्था र संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक रहेको सचिव पाण्डेको भनाई छ ।


समितिले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सबैमा आह्वान समेत गरेको छ ।