गैंडाकोट पम्पिङ द्वारा गैडाकोट नगरपालिका परिसरमा फायर हाईड्रेन्डको उद्घाटन
गैंडाकोट । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गैडाकोट नगरपालिका परिसरमा बनाएको फायर हाईड्रेन्ड उद्घाटन भएको छ ।
खानेपानी संस्थाको वार्षिक कार्ययोजना अनुसार फायर हाईड्रेन्ड निर्माण गरिएको हो। मंगलबार नगरपालिका परिसरमा नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गर्नुभएको हो।
नगरप्रमुख अधिकारीले शुद्ध खानेपानी खुवाउँदै आएको संस्थाले नगरपालिका परिसरमा फायर हाईड्रेन्ड निर्माण गरेर राम्रो काम गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले खानेपानीले समुदायका धेरै लक्षित वर्गसँग जोडिएर काम गरिरहेको छ भने अहिले नगरपालिकासँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अध्यक्ष न्यौपानेले नगरपालिकाले बेलाबेलामा अनुगमन गरेर सल्लाह सुझाव दिन पनि आग्रह गर्नुभयो।
नगरपालिकाभित्र आवश्यकता रहेको कारणले फायर हाईड्रेन्ड निर्माण गरिएको सचिव केशव पौडेलले जानकारी दिनुभयो। सचिव पौडेलले खानेपानी संस्थाको मुख्य कार्यालय अगाडि र विभिन्न ठाउँमा पनि फायर हाईड्रेन्डको लागि पोइन्ट राखेको जानकारी दिनुभयो ।
सस्थाका कोषाध्यक्ष श्रीराम सुबेदीले गैंडाकोट नगरपालिकाले दमकल खरिद गरिसकेको हुनाले यो ठाउँमा रहँदा उपयुक्त र सहज हुने भएकोले नगरपालिकामा राखिएको बताउनुभयो ।
कार्यक्रममा खानेपानी संस्थाका कार्यसमिति, जनप्रतिनिधि, समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण खानेपानी संस्थाका सचिव केशव पौडेलले गर्नुभएको थियो।