कालिका मन्दिर–कालिका आश्रमको ५०औँ स्वर्ण महोत्सव सम्पन्न
गैँडाकोट । गैँडाकोट–८ स्थित कालिका मन्दिर–कालिका आश्रमको ५०औँ स्वर्ण महोत्सव तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रम बिहीबार मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रम एवं परमानन्द संस्कृत गुरुकुल, देवघाटधामका पीठाधीश स्वामी सरस्वती महाराजले हाम्रो सनातन परम्परा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले आफ्ना संस्कार र परम्परालाई कहिल्यै नबिर्सन आग्रह गर्दै मन्दिरमा सुरु गरिएको अखण्ड दीप प्रज्वलन कार्य निरन्तर सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले स्वर्ण महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि गैडाकोट नगरपालिका नगर प्रमुख मदन भक्त अधिकारी ले सनातन हिन्दू धर्मको संरक्षणमा यस्ता धार्मिक कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले मन्दिरमा पर्व मनाउन पाउँदा खुशी व्यक्त गर्दै पूर्वजहरूले स्थापना गरेको मन्दिरबाट आशीर्वाद लिन पाउनु गौरवको विषय भएको उल्लेख गर्नुभयो । साथै उहाँले पूजा–आजा तथा धार्मिक कार्यका नाममा हुने हिंसा र बलि प्रथालाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट–८ का वडा अध्यक्ष प्रेम सापकोटा ले मन्दिरलाई यहाँसम्म ल्याउन सहज वातावरण नभएको उल्लेख गर्दै आर्थिक भौतिक रुपले सहयोग गर्ने सहयोगी दाताहरु सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मन्दिरको विकासको लागी मन्दिरको सहयोग स्वरुप वडाको तर्फबाट ४ लाख १४ हजार १ सय ४१ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शान्ति कोइराला , नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, उपकुलपति भीमप्रसाद शर्मा, वडा नं. ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा, वडा नं. ७ का अध्यक्ष होमनाथ सापकोटा लगायत जनप्रतिनिधिहरू तथा भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम कालिका मन्दिर–कालिका आश्रमका सल्लाहकार इन्द्रराज ज्योति पौडेलले सञ्चालन गर्नुभएको थियो भने कालिका मन्दिर–कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटाले कार्यक्रमको समापन गर्नुभएको थियो ।सो अवसरमा भजनकीर्तन, दीप प्रज्वलन, अखण्ड दीप प्रज्वलन तथा लाखबत्ती बाल्ने कार्यक्रमसमेत गरिएको थियो ।