शोभायात्रा सहित चौथो गैँडाकोट महोत्सव सुरु 

२०८२ पौष २५ शुक्रबार १८:५५:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा चौथो गैँडाकोट महोत्सव सुरु भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, बजारीकरण र पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । 
जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवमा विभिन्न २५० वटा स्टलहरु रहेका छन् । महोत्सव सुरु हुनु अगाडि आज (शुक्रबार) बिहान वृहत झाँकीसहितको शोभायात्रा निकालिएको छ । गैँडाकोट नगरपालिका परिसरबाट सुरु भएको शोभायात्रा काँग्रेसचोक, कालीगण्डकी चोक, पुलचोक हुँदै महोत्सवस्थल नारायणी नदीकिनार पुगेको थियो । 
हात्तीसहित निकालिएको शोभायात्रामा गैँडाकोटभित्रका करिब तीन सय ५० भन्दा बढी सङ्घसंस्थाको सहभागिता रहेको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । शोभायात्रामा उपस्थित सङ्घसंस्थाका प्रतिनिधिहरु आफ्नो सांस्कृतिक पहिचानसहित र झाँकीसहित सहभागी भएका सापकोटाले बताउनुभयो ।