राष्ट्रिय सम्मान र छात्रवृत्ति प्रदान लगायतका कार्यक्रमसहित सहमतीको साधारण सभा सम्पन्न

२०८२ पौष २६ शनिबार १७:१५:०० मा प्रकाशित

नवलपुर । गैँडाकोटमा अवस्थित सामाजिक संस्था सहमतीको २७ औँ साधारण सभा, ९ औँ अधिवेशन तथा समाजिक परीक्षण एवम् सम्मान कार्यक्रम शनिबार संस्थाको कार्यालय गैँडाकोटमा सम्पन्न भएको छ । 


कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहमतीले वातवरण संरक्षण, नदी तथा जलाधार क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोमा नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। 


कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संस्थापक महानिर्देशकको रुपमा रहेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना र सञ्चालनमा महत्वपूर्ण भूमिका निभाउनुहुने, वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा विशेष योगदान पुर्याउनुहुने राष्ट्रिय व्यक्तित्व विश्वनाथ उप्रेती र फोहोर व्यवस्थापनलाई आर्थिक पक्षसँग जोडेर नयाँ अभियानको शुरुवातकर्ता खाली सिसी म्यानेजमेन्ट प्रा.लिका सञ्चालक महिला उद्यमी आयुषी के.सीलाई सहमती राष्ट्रिय व्यक्तित्व सम्मानबाट सम्मानित गरिएको थियो ।


कार्यक्रममा सहमती कर्मचारी सम्मानबाट सवारीचालक बुद्धि सागर कुमाललाई सम्मानित गरिएको थियो । संस्थाका महासचिव बेलप्रसाद पौडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थाले आर्थिक विकास, दिगो जिविकोपार्जन प्रवद्र्धन, पर्यावरण संरक्षण र विपद् जोखिम न्युनीकरण, स्वास्थ्य र पोषण र अनुसन्धान र नवप्रवर्तन जस्ता विषयमा काम गरिरहेको बताउनुभयो । संस्थाले नदीसँगै हामी र नारायणी नदी संरक्षण कोष जस्ता कार्यक्रम सञ्चालन गरेको कुरा प्रस्तुत गर्नुभएको थियो । सहमतीले ५२ जिल्लाहरुमा ११२ वटा भन्दा बढि परियोजना सञ्चालन गरिरहेको छ ।

 
संस्थाका कोषाध्यक्ष तारादेवी शर्माले आर्थिक प्रगति प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्दै संस्थाले सहमती शैक्षिक कोष, नारायणी नदी संरक्षण कोष, ज्येष्ठ नागरिक कल्याण कोष, मानव संसाधन विकास कोष, विपद् आपतकालिन कोष जस्ता महत्वपूर्ण कोषहरु सञ्चालन गरिरहेको कुरा बताउनुभयो ।


कार्यक्रममा स्वतन्त्र सामाजिक लेखा परिक्षक रुद्र पराजुलीले संस्थाको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो सभामा विभिन्न विद्यालयका १२ जना विद्यार्थीहरुलाई सहमती छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रम सहमतीका अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । आजै संस्थाको नवौँ अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने कार्यक्रम रहेको छ ।