मातृभूमि टोल विकास संस्थाको नवौँ साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

२०८२ पौष २६ शनिबार १८:४०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका–५ मा रहेको मातृभूमि टोल विकास संस्थाको नवौँ साधारण सभा तथा सम्मान कार्यक्रम आज शनिबार सम्पन्न भएको छ। कार्यक्रम गैँडाकोट आधारभूत अस्पतालको प्राङ्गणमा आयोजना गरिएको थियो।

संस्थाका अध्यक्ष विन्दु सापकोटा लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष रत्नप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सो अवसरमा वडाध्यक्ष सापकोटाले सबै टोल तथा वडासँग सहकार्य गर्दै नागरिकको हितमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै समुदायमा रहेका समस्या पहिचान गरी समाधान गर्ने तथा टोलको भौतिक विकासमा संस्थाका प्रतिनिधिहरूले सक्रिय रूपमा जिम्मेवारी बहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा वडा नम्बर ५ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ति न्यौपाने विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। उहाँले वडाको तर्फबाट टोलमा देखिएका समस्याहरू समाधान गर्न मुख्य भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै टोलबासीबाट प्राप्त सुझावहरूलाई आत्मसात् गरी अगाडि बढ्ने बताउनुभयो।

संस्थाका सचिव चुन्नप्रसाद न्यौपानेले संस्थाको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले स्थापना कालदेखि नै संस्थाले समुदायलाई अनुशासित र संगठित ढंगबाट अगाडि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रममा कोषाध्यक्ष कृष्णप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको जम्मा आम्दानी १ लाख ६० हजार २५२ रुपैयाँ र जम्मा खर्च ८१ हजार २१० रुपैयाँ रहेको जानकारी गराउनुभयो।

संस्थाका अध्यक्ष विन्दु सापकोटा लामिछानेले टोलको विकासका लागि संस्थाले सक्रिय रूपमा काम गरिरहेको र टोलबासीको सहयोग पनि उल्लेखनीय रहेको बताउनुभयो। साथै विकास निर्माणका कार्यमा वडाबाट प्राप्त सहयोगप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा न्यायिक समिति सदस्य द्रोणवन सन्यासी, संस्थापक अध्यक्ष एकनाथ रिजाल, समुन्नति टोल विकास संस्थाका अध्यक्ष केदार सापकोटा, सल्लाहकार समिति संयोजक केशवप्रसाद सापकोटा, सल्लाहकार समिति सदस्यहरू गोविन्द रिमाल र इन्द्रराज पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। सो अवसरमा टोलभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो।

कार्यक्रममा संस्थाकी सह–सचिव विष्णु सापकोटा रिमालले स्वागत मन्तव्य राख्नुभएकोे कार्यक्रमको सहजीकरण सचिव चुन्नप्रसाद न्यौपानेले गर्नुभएको थियो।