एटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगलाई वाणिज्य विभागको जरिवाना

२०८२ पौष २६ शनिबार १३:४५:०० मा प्रकाशित

काठमाडौं । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योग ललितपुरको बालकुमारी प्लास्टिक उद्योग र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

 

शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिबाना तिराइएको विभागले जनाएको छ । विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ भने काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

 

सरकारले वातावरण प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरोक लगाएको छ । विभागले नियमित बजार अनुगमन क्रममा यो नियमको पालना नभएको पाइए कानुन बमोजिम जरिबाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।