मधुमेह समाज गैंडाकोटद्वारा निःशुल्क सुगर तथा आँखाको रेटिना परीक्षण शिविर, शिविरबाट १२० जना लाभान्वित
गैंडाकोट । मधुमेह समाज गैंडाकोटले आफ्नो स्थापना दिवसको अवसर पारेर शनिबार निःशुल्क सुगर जाँच (रक्त परीक्षण) तथा आँखाको रेटिना परीक्षण शिविर सम्पन्न गरेको छ ।
सहज सामुदायिक अस्पताल, गैंडाकोट-४ मा आयोजित उक्त शिविरमा करिब १२० जना मधुमेहका व्यक्तिहरुले निःशुल्क रक्त परीक्षण तथा आँखाको रेटिना परीक्षण सेवा लिएका छन् । आँखा परीक्षण गराएकामध्ये करिब १२ जनामा आँखासम्बन्धी जटिलता देखिएको हुँदा उनीहरूलाई थप उपचारका लागि भरतपुर आँखा अस्पतालमा रिफर गरिएको कार्यक्रमका संयोजक गजेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा फिजिसियन डा. मुकेश कुमार यादव, अप्थाल्मोलोजिस्ट डा. प्रदीप कुमार साह तथा अप्थाल्मिक असिस्टेन्ट मञ्जु महतरा क्षेत्रीले सेवा प्रदान गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष केदारनाथ न्यौपाने रहनुभएको थियो भने संयोजकको जिम्मेवारी गजेन्द्रराज न्यौपानेले सम्हाल्नुभएको थियो ।
कार्यक्रमले मधुमेह भएका व्यक्तिहरुले आँखासम्बन्धी जटिलता समयमै पहिचान गर्न तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रम मधुमेह समाज गैंडाकोटको आयोजनामा तथा भरतपुर आँखा अस्पतालको सहयोगमा सम्पन्न भएको हो।