मैया देवी ट्रष्टद्वारा विजय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण
नवलपरासी पूर्व । मैया देवी ट्रष्ट नेपाल, भरतपुर चितवनले नवलपरासी पूर्व, गैंँडाकोट-८ स्थित विजय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा ११० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा मैया देवी ट्रष्ट नेपालका अध्यक्ष प्रेमकुमार श्रेष्ठले केवल धन मात्र भएर सहयोग हुन नसक्ने बताउँदै मन पनि सहयोगी हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले मानवसेवामा समर्पित रही ट्रष्टको सहयोगी कार्यक्रम निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी ट्रष्टका उपाध्यक्ष सिद्धकुमार श्रेष्ठले संस्थाले २०५८ सालदेखि विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँका अनुसार संस्थाले वार्षिक रूपमा ४० हजार रुपैयाँ सहयोग गर्दै आएको र आगामी दिनहरूमा पनि सहयोग निरन्तर राख्ने बताउनुभएको छ ।
कार्यक्रममा संस्थाका सचिव टंकनाथ पौडेलले निरन्तर समाजसेवा र मानविय सेवामा समर्पित रही काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा समिति सदस्य दोलराज पाण्डे, गैंडाकोट-८ का वडाध्यक्ष प्रेम सापकोटा, अक्षयकोष दाता फुलमाया पराजुली, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा लगायतको उपस्थिति थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाधर पौडेलले गर्नुभएको थियो भने विद्यालयकी प्रधानाध्यापक सरस्वती पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो ।