अक्सफोर्ड कलेज गैंडाकोटद्वारा ३०० विद्यार्थी दीक्षित 

२०८२ जेठ १० शुक्रबार २१:००:०० मा प्रकाशित

गैंडाकोट, चितवन — अक्सफोर्ड कलेज गैंडाकोटले कक्षा १२ को परीक्षा दिएर बसेका ३०० जना विद्यार्थीलाई एक भव्य समारोहका बीच दीक्षित गरेको छ। भरतपुरस्थित ग्यालेक्सी गार्डेन होटलमा आयोजित कार्यक्रममा विभिन्न विषयगत रूपमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रम १२ म्यानेजमेन्टका विभागीय प्रमुख हरीप्रसाद थपलियाको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका प्राध्यापक डा. इन्जिनियर हरि भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन विज्ञान विभागका पूर्व विभागीय प्रमुख कृष्णहरि पौडेलले गर्नुभएको थियो।

डा. भण्डारीले विद्यार्थीहरूको लगनशीलता र कलेजको शिक्षण प्रणालीले सफलता हासिल गर्न सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो। व्यवहारिक र सैद्धान्तिक सीपमा आधारित शिक्षाले विद्यार्थीलाई प्रतिस्पर्धी बनाउनेमा कलेज प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

विदेशी शिक्षा प्रवृत्तिबारे टिप्पणी गर्दै उहाँले कम्तीमा स्नातक तहको अध्ययन स्वदेशमै सम्पन्न गरेर मात्र विदेश जाने निर्णय लिन विद्यार्थीलाई सुझाव दिनुभयो।

विद्यार्थीहरूले कलेजले उपलब्ध गराएको वातावरण, शैक्षिक सुविधा र शिक्षकहरूको मार्गदर्शनले आफूहरूलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गरेको प्रतिक्रिया दिएका छन्।